हेटौँडा सडक विस्तारः अल्पकालीन आदेशको गलत ‘व्याख्या’, डोजर–टिपर तयारी अवस्थामा

रातोघर

 २०८० श्रावण ११, बिहिबार  मा प्रकाशित
४७९ पाठक संख्या


सर्वोच्च अदालतले गरेको अल्पकालीन उत्प्रेषण आदेशको मर्मविपरीत हेटौँडामा सडक विस्तार रोकिएको हल्ला चलाइएको छ । हेटौँडा उपमहानगरपालिका–१०, राप्तीरोड निवासी विजयलाल जोशीसमेतले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशले मंगलबार अल्पकालीन आदेश जारी गरेको हो । जोशीले गत साउन ४ गते सर्वोच्चमा दर्ता गराएको रिटमा न्यायाधीश सिन्हाको एकल इजलासले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सडक विस्तारको विषयमा १५ दिनभित्र लिखित जवाफ माग गर्दै आदेश जारी गरेको छ ।

महेन्द्र राजमार्गको हेटौँडा–१५ रातोमाटेबाट–बुद्धचोक हुँदै राप्ती पुलसम्मको सडक सीमा सडक केन्द्रबिन्दुबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन यसअघि १० असारमा सडक डिभिजन कार्यालय हेटौँडाले सूचना निकालेको थियो । सूचनाको म्याद सकिनै लाग्दा घरधनी र व्यवसायीहरू सडक विस्तार कार्य रोक्न वा मुआब्जा तथा क्षतिपूर्ति मागेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई, मुख्यमन्त्री, उपमहानगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित राजनीतिक दलहरूको ध्यानाकर्षण गराइरहेका छन् ।

आदेशको मर्म रिट उपर भएको के हो भन्ने सम्बन्धमा बुझ्न सरोकारवालालाई छलफलमा बोलाइएको हो । यता, छलफलमा बोलाइएको विषयलाई सडक विस्तार रोकिएको हल्ला चलाइरहँदा सडक डिभिजनले भने एक्साभेटर, डोजर र टिपर तयारी अवस्थामा राखेको जानकारी दिएको छ । सडक डिभिजन कार्यालयले आफूसँग विभिन्न प्रकारका सडक पूर्वाधार निर्माणमा प्रयोग हुने ६० वटा ठूला मेशिन (हेभि इक्यूपमेन्ट) तयारी हालतमा रहेको जानकारी दिएको हो ।

जसमध्ये २ वटा एक्साभेटर, २ वटा डोजर र ६ वटा टिपर साउन १६ गते हेटौँडा बजारमा उतार्ने गरी तयारी अवस्थामा राखिएको कार्यालय स्रोतले  जानकारी दिएको हो । ‘तयारी धेरै छन् । अहिले नै मिडियामा भनिहाल्नु पनि भएको छैन । एक्साभेटर, डोजर र टिपरलाई मर्मतसम्भार तथा नियमित सञ्चालनको तयारी सकिसकेका छौँ’, कार्यालय स्रोतले भन्यो ।

अधिवक्ता मदनकुमार दाहालका अनुसार यो अल्पकालीन आदेश मात्र रहेको र जुन आदेशले १६ साउनसम्म मात्रै २५ मिटरभित्र बनेका घरटहरा भत्काउन मिल्दैन । यद्यपि, सडक डिभिजन कार्यालयको ३५ दिने सूचनाको अन्तिम म्याद १५ गतेसम्म हो । ‘यो अल्पकालीन आदेशको रूपमा रिट दर्ता भइसकेपछि दुवै पक्षको कुरा सुन्नलाई १६ गते छलफलमा बोलाइएको हो । सम्भवतः १६ गते नै यो विषय टुंगो लाग्छ’, अधिवक्ता दाहालले शिलापत्रसँग भने । दाहालले अल्पकालीन आदेशलाई सडक विस्तार नै रोक्नु भन्ने बुझाई राख्नु गलत हुने बताए ।

तर, सडक विस्तार नै रोकिएको र हेटौँडाको घरहरू तत्काल नभत्कने हल्ला चलाइएको छ । हल्ला चलाउनुको पछाडि १६ गतेपछि सडक डिभिजन कार्यालय हेटौँडाले सडक क्षेत्रको अतिक्रमित संरचना हटाउने पक्कापक्कै जस्तै देखिएकोले यो कदम रोक्न सुनियोजित षड्यन्त्र भएको सरोकारवालाका निकायले नै बताएको छ । अदालतको यो आदेशको मर्मविपरीत हल्ला चलाउँदा सडक विस्तार रोक्ने आन्दोलनमा थप बल पुर्‍याउनका लागि सहानुभूति बटुल्न खोजिएको सरोकारवाला निकायका अधिकारीहरूले नै बताएका हुन् ।

‘अदालतले त विस्तार नगर्नु भनेको थियो तर, भत्काउन खोजिएको भन्दै आन्दोलनकारी सडकमा ल्याउन खोज्नेको षड्यन्त्र हो । नगरपालिका र सडक डिभिजन यतिकैमा पछाडि हट्छ जस्तो मलाई लाग्दैन,’ हेटौँडा उपमहानगरका एक जनप्रतिनिधिले भने, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो–को आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना म्याद पाएका मितिले १५ (पन्ध्र) दिनभित्र प्रत्यार्थी नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ ले महान्यायाधिवक्ताको कार्यालयमार्फत र प्रत्यार्थी नं. १० ले आफैँ वा आफ्नो कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू’, अदालतको आदेशमा उल्लेख गरिएको छ ।

सडक डिभिजन हेटौँडाका प्रमुख इन्जिनियर राजेशप्रसाद यादवले अल्पकालीन आदेशलाई सडक विस्तार नै रोकिएको भनेर प्रचारबाजी गरिएको आरोप लगाए । उनले छलफलका लागि १६ गते बोलाएकै दिन विजयलाल जोशीसमेतले दायर गरेको रिट खारेज हुने दाबीसमेत गरेका छन् । ‘रिट दर्ता भएपछि अल्पकालीन आदेश हुनु स्वभाविक हो । तर, सर्वोच्च अदालतले नै विगतमा २५ गजभित्र सडक भत्काउन आदेश दिइसकेकाले १६ गते उक्त जानकारी सर्वोच्चलाई दिन्छौँ । र, पूर्ववत आदेश हेरिसकेपछि यो रिट सिधै खारेज हुन्छ’, यादवले भने, ‘तीनवटा घरमा मात्रै स्टेअर्डर जारी भएको रहेछ । त्यो बाहेकको घरमा डोजर चल्छ ।’, स्टेअर्डर जारी भएको भनेर हल्ला फिजाइरहेको भन्दै यसको कुनै अर्थ नभएको पनि यादव बताउँछन् ।

 

यादवले अल्पकालीन आदेशबाट हेटौँडा बजारको विस्तार नै रोक्ने नभएर उजुरी दिने व्यक्तिको हकमा के गर्ने भन्ने छलफलका लागि जवाफ मागेको बताए । ‘यो हेटौँडाको पूरै बजार भत्काउन रोक्ने आदेश होइन’, उनले भने, ‘दुईवटा घरधनीले उजुरी दिएका रहेछन् । त्यसका लागि छलफल गर्न लिखित जवाफ मागेको हो । १६ गतेपछि हेटौँडाबजार क्षेत्रभित्रका २५ गजभित्र पर्ने संरचनाहरू भत्किन्छ । यसमा भ्रम सिर्जना गरिरहनु गलत हो ।’, पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको रातोमाटेदेखि राप्ति पुलसम्म अतिक्रमित संरचना हटाउन १० असारमा कार्यालयले सूचना जारी गरे यता घरधनी र व्यवसायी चिन्तित छन् ।
२०२१ सालमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतका क्षेत्रहरूमा सडकको बीचबाट दायाँबायाँ २५–२५ मिटर फराकिलो बनाउने घोषणा भएको थियो । तर, हेटौँडामा यसअघि २०७३ साल पुस १४ गते बजार क्षेत्रमा पहिलो पटक सडक विस्तारका लागि डोजर चलेको थियो । तत्कालीन मध्यमाञ्चल क्षेत्रीय प्रशासक (प्रमुख) विनोद केसीले सडक विस्तारका लागि दबाब बढाएका थिए । २०७३ मा विस्तार गर्न खोज्दा बासिन्दा, स्थानीय व्यवसायीले आन्दोलन गरेका थिए । त्यसपछि पछिल्लो सूचना नै १० असारमा जारी भएको हो ।
सडक विस्तार नरोक्न बाबुछोराको अनशन
हेटौँडाको राजमार्ग क्षेत्रमा सडक विस्तार नरोक्न माग गर्दै स्थानीय बाबुछोरा ११ दिनदेखि निरन्तर अनसनमा बसिरहेका छन् । हेटौँडा उपमहानरपालिका वडा नम्बर–८ कमानेका ७३ बर्षीय मानबहादुर तामाङ र उनका छोरा ३४ वर्षीय राजीव तामाङ सडक डिभिजन कार्यालय हेटौँडाको गेट अगाडि अनसनमा बसेका हुन् । अब कुनै पनि बहानामा सडक विस्तारको काम रोक्न नहुने भन्दै कार्यालयको गेटमा काठको बेञ्च लगेर बसिरहेका छन् । उनीहरूले सडक विस्तारले समग्र देशकै विकास गर्ने भएकाले यसलाई रोक्न नहुँने भन्दै साउन १ गतेबाट गेटमा भद्र अनशन बसिरहेको जानकारी दिए ।
छोरा राजीवले सरकारले कम भन्दा कम क्षति हुनेगरी सडक विस्तारको उपाय खोज्नुपर्ने बताए । उनले हेटौँडा–१५, रातोमाटेदेखि राप्तिपुलसम्मको क्षेत्रमा पर्ने सरकारी जग्गाको उपयोग गर्दै सडक विस्तार गरे कम क्षति हुने भएकाले सोही अनुसार गर्नुपर्ने बताए । ७३ वर्षीय वृद्धा तामाङ सडक विस्तार कार्यमा आफूहरूको कुनै स्वार्थ नभएको तर, यो अस्ताउने उमेरमा समग्र हेटौँडाको विकास वर्षौदेखिको अन्यौलताले निकास पाएको हेर्न चाहेको सुनाए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban