एरिया कभरेजको हिसाबले र मात्राको हिसाबले पनि धेरै पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद महर्जनले जानकारी दिइन् । ‘हिजो र आज अलिकति कम पानी परेको देखिएको छ, भोलिदेखि मनसुन सक्रिय हुने भएकाले पानी पर्ने क्रम फेरि बढ्ने छ’ उनले भनिन् । उनका अनुसार सोमबारसम्मै मनसुन सक्रिय रहने सम्भावना छ ।
मौसम पूर्वाअनुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति भने कोशी र मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना छ । तर पूरै प्रदेशभर नभई एक–दुई स्थानमा मात्र भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
भोलि (शनिबार) पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ । शनिबार राति भने सुदूरपश्चिम प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।
भोलिदेखि अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिदेखि देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । पर्सि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वाअनुमान छ ।
आज कोशी, महाकाली, नारायणी, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा जल सतह सामान्य बढे पनि सतर्कता तहभन्दा तलै रहने छ ।
धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि दिउँसो कोशी, गण्डकी र लुम्बिनी प्रदेशकाका एक–दुई स्थानमा भारी वर्षा हुने छ । भोलि राति भने कोशी, मधेश, बागमती र लुम्बिनीमा भारीको सम्भावना छ ।
नेपालमा यस वर्षको मनसुन १४ जुनमा भित्रिएको थियो । मनसुन मित्रिएको पहिलो साता पूर्वी नेपालमा अत्यधिक वर्षा भएको थियो भने तराई मधेश र पश्चिम नेपाल सुक्खा थियो । लामो समयसम्म खण्ड खण्डमा मात्र वर्षा भए पनि गत सोमबार र मंगलबार देशका अधिकांश भूभाग ओगट्ने गरी पहिलो पटक वर्षा भएको थियो ।
सामान्य वर्षा हुँदा पनि काठमाडौं र भक्तपुरका केही वस्ती जलमग्न भएका थिए । नदी र खोला किनारका घरमा लेदो माटोसहितको बाढी पसेको थियो ।सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जलमग्न भएका वस्तीका बासिन्दा अझै पनि सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।








Write your Comment