पर्यटक बसबाट ५२ लाख ७३ हजार नक्कली नोट बरामद, ९ जना पक्राउ

रातोघर

 २०८० श्रावण २६, शुक्रबार  मा प्रकाशित
६८६ पाठक संख्या


काठमाडौं ।

प्रहरीले करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।

प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो ।

चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो ।सोधपुछका क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएका थिए ।

त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको हो ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।

प्रहरी टोलीले रुपैयाँसहित ९ जनालाई पक्राउसमेत गरेको छ । उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban