जीतपुरसिमरामा शिक्षक महासंघको धर्ना, सरकारसंगको सहमति कार्यान्यवन गर्न माग

रातोघर

 २०८० श्रावण २८, आईतबार  मा प्रकाशित
१८२३ पाठक संख्या


सिमरा ।

नेपाल शिक्षक महासंघ जीतपुरसिमरा नगर कमिटीले आइतबार उपमहानगरपालिकाको कार्यालयमा तीन घण्टा धर्ना दिएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत नगर कमिटीले उपमहानगरपालिकाको कार्यालयमा बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिएको हो ।

उपमहानगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका शिक्षकले केन्द्रीय कार्यक्रमअनुसार नेपाल सरकारसंग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको छायाप्रति नगर प्रमुख राजन पौडेललाई बुझाएका छन् । नगर कमिटी संयोजक शंकरकुमार आचार्यको नेतृत्वमा रहेको शिक्षक महासंघको टोलीले नगर प्रमुख पौडेललाई सहमतिको छायाप्रति बुझाएका हुन् ।

सरकारसंग यसअघि भएका सहमति कार्यान्यवनका लागि दवाव दिन शिक्षकहरुको छाता संगठनको रुपमा रहेको महासंघले साउन २६ गते विरोधका कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार जीतपुरसिमरासंगै बाराको सबै स्थानीय तहमा महासंघले धर्ना दिएको हो । केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षक महासंघले साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय र साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिनेछन् ।

आफूहरुसंग भएको सहमति कार्यान्यवन गर्न सरकारले चासो नदेखाएको भन्दै शिक्षक महासंघले विरोधका कार्यक्रम गर्दै आएको छ । महासंघले कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्ने, शिक्षा विकास तथा समन्वय इकाईको नाम परिर्वतन गरी जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था गर्ने, एक पटक आन्तरिक परीक्षामा सामेल हुन नपाएका अस्थायी र करार शिक्षकलाई नियमानुसार शिक्षक सेवा आयोगमार्फत उमेरको हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिनेलगायतका माग राखेको थियो । महासंघले राखेको माग कार्यान्यवन गर्न तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेलले ५१ बुँदे सहमति गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban