सिमरा सेजमा २५ उद्योगलाई अनुमति

रातोघर

 २०८० भाद्र ४, सोमबार  मा प्रकाशित
४३२ पाठक संख्या


बारा ।

बाराको सिमरा सेजको ‘ए’ बल्कमा २५ उद्योगले अनुमतिपत्र प्राप्त गरेका छन् । त्यसमध्ये चार उद्योगले कारखाना सञ्चालनको लागि सेजमा पूर्वाधार निर्माण गरिरहेका छन् भने बाँकी उद्योगले वर्षातका कारण भदौ अन्तिमदेखि काम थाल्ने जनाएका छन् । सेजको ५ ब्लक मध्ये उद्योग सञ्चालनको लागि गत वर्ष तयार भएको ‘ए ब्लक’ मा रहेको ६८ वटा प्लटमा दुई वर्षभित्र कारखाना सञ्चालन गर्ने सर्तमा उक्त उद्योगहरुले गत वर्ष पनि अनुमति पाएका थिए ।

सेजमा मार्बल, टायलका चार उद्योगले मंसिर पहिलो साता उत्पादन गर्ने गरि कारखाना सञ्चालन पूर्वाधारको अन्तिम तयारीमा पुगेको बताएका छन् । बाँकी अनुमती लिएका मनराम हिमालयन हाण्डीक्राप्ट, बागमती आटर्स, एभरेष्ट फेसन, बालाजी मेनुफेक्चरीङ, नर्थ वेष्ट ईन्डष्टिज, पशुपति सेरामिक्स, केम्याक्स हिमालयन प्रालि लगायतका उद्योगले कारखानाको पूर्वाधार निर्माण यहि भदौ देखि थाल्ने सिमरा सेजका प्राविधिक आनन्द भट्टले जानकारी गराए ।

‘ए’ बल्कमा सञ्चालन हुने उद्योगमा ८ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने उल्लेख गरिएको छ । २ हजार ९७५ ले प्रत्यक्ष रोजगार पाउने छन भने उक्त उद्योगले वार्षिक २४ अर्ब ५५ करोड रुपैयाँका निर्यात गर्ने प्राधिकरणले जनाएको छ । अनुमति प्राप्त उद्योगमा इलेक्टोनिक सबारी एसेम्बल, हर्वल प्रोसेसिङ, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्डहरु बनाउने उद्योग, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण बनाउने , आल्मुनियम, भाडा, टिस्यु पेपर र धेरै जसो गार्मेट उद्योग रहेको प्राधिकरणले जनाएको छ ।

८३३ बिगाह क्षेत्रफल रहेको ५ ब्लक मध्ये सेजले ‘ए ब्लक’ मा प्रशासनिक भवन, दुषित पानी प्रशोधन केन्द्र आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी, बैंक, बीमा, हुलाक, भन्सार, पेट्रोलपम्प, धर्मकाटा, सुरक्षा, क्यान्टिन, र विद्युतीकरण लगायतका संरचना सञ्चालनका लागि पूर्वाधार निर्माण सम्पन्न गरेको छ । उद्योग सञ्चालनको लागि चाहिने उपकरण, मेसिन, औजार, पार्टपुर्जा, कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरेको प्राधिकरणले २ वर्ष निर्यात गर्न नपर्ने, तेस्रो वर्षदेखि २० प्रतिशत, चौथो वर्षमा ४० र पाँचौ वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था लागु गरेको छ ।

प्राधिकरणले जग्गाको भाडादर ५० प्रतिशत घटाएसँगै उत्पादनको पहिलो वर्षमै ६० प्रतिशत निर्यात गनुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाएको छ । सरकारले औद्योगिक वातावरण बनाउन नसकेकै कारण विगत ५ वर्षदेखि पथलैया–विरगंज औद्योगिक करिडोरमा नयाँ उद्योग स्थापना हुन सकेका छैनन् । राष्ट्रिय रुपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सञ्चालन गर्नेगरी शिलान्याश गरेको सेजमा ६ वर्षपछि उद्योगले प्रवेश पाएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban