

सिमरा ।
बाराको केन्द्र सडकका रुपमा निर्माण कार्य अन्तिम चरणमा रहेको पथलैया–बिरगञ्ज औधोगिक (६ लेन) सडकको सर्भिस लेन र क्षेत्राधिकार भित्र पर्ने क्षेत्रको अनधिकृत बजार हटाउने बारे अन्योल बढेको छ ।
दुई हप्ता अगाडी सवै पक्षको साझा सहमतीमा बसेको वैठकले गरेको सहमतीलाई कार्यान्वयन गर्ने बारेको निर्णय अलमलमा छ । सर्भिस लेनको फुटपाथ बजार र पार्किङ हटाउन गरिएको सहमती र १५ दिने म्याद सकिँदा सम्वन्धित निकाय मौन छन् ।
सडक निर्माणको जिम्मा लिएको व्यापारिक मार्ग विस्तार योजना सडक बिभाग भने अब काम सकेर फरफारक गर्ने तयारीमा छ । कार्यालयका अनुसार सडकको पुर्ण संचालन गर्न सवै पक्षको सहयोग चाहिने भनिरहेको छ । सडक निर्माण आफुहरुले गरिदिने भएपनी प्रयोग गर्ने बारेको व्यवस्थापन भने स्थानिय तवरबाट हुनुपर्ने धारणा राखिरहेको छ ।

६ लेन सडकको अनधिकृत फुटपाथ, पार्किङ र बजार हटाउने बारे प्रशासन र स्थानिय तह बिच समन्वय हुन नसक्दा सडक अस्तव्यस्त बनेको छ । पथलैया–बिरगञ्ज औधोगिक सडक ६ लेनको भएपनी सो समस्याले गर्दा बिचको चार लेन मात्रै प्रयोगमा छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले स्थानिय तहले नेतृत्व लिए प्रशासन खाली गर्न तयार रहेको बताए ।
उनले सडकमा डन्डा चलाएर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै स्थानिय जनप्रतिनिधीले नेतृत्व नलिएका कारण सडकमा त्यो अवस्था सिर्जना भएको बताए ।
‘सडकमा लौरो देखाएर मात्रै व्यापारीले टेर्दैनन्, उनीहरुका बिभिन्न संगठनहरु छन्, भोली चर्को आलोचना हुने प्रहरीकै हो । ’, उनले रातोघरलाई भने, ‘उद्योग वाणिज्य, नगरपालीका र सम्वन्धित क्षेत्रले वास्ता नगरेसम्म समस्या उस्तै रहन्छ , नेतृत्व लिएर हामीलाई बोलाउनुस्, आधा घण्टामा आइपुग्छौँ ।’

यसैबिच जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आइतबार सुचना जारी गरी १५ दिने म्यादलाई कार्यान्वय गर्न सवै पक्ष लाग्न आग्रह गरेको छ । संघका अध्यक्ष मोहन प्रसाद लामिछानेका अनुसार प्रशासन र स्थानिय तहले सहकार्य गरे अनाधिकृत बजार र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न वाणिज्य संघ तयार रहेको छ ।
यहाँको बजार अस्तव्यस्त र पार्किङ व्यवस्थापन हुन नसक्दा स्थानिय उपभोक्ताहरु अन्य शहरबजार तिर आकर्षित भइरहेको प्रती वार्णिज्य संघको ध्यानाकर्षण भएको बताएको छ ।
अनधिकृत फुटपाथ व्यवसायका कारणले यहाँको बजारी सौन्दर्यकरण हुन नसकेको प्रती चिन्ता व्यक्त गर्दै पर्यटन तथा हवाई यातायात समिति मधेश प्रदेश सभापती समेत रहेका लामिछानेले स्थानिय तहले यो समस्यालाई गम्भिर रुपमा लिन समेत आग्रह गरेका छन् ।

अव्यवस्थित सवारी पार्किङ र अनाधिकृत फुटपाथ बजारले जीतपुरसिमराको मुख्य बजार मानिने जीतपुर अस्तव्यस्त बनेको छ । छ लेन सडकको दुवैतर्फको सर्भिस लेन, बजार र सवारी साधनले दिनहुँजसो भरिभराउ देखिन्छ ।

सडकमा नो पार्किङको वोर्ड टाँसेको क्षेत्रमा सवारी र फुटपाथ व्यवसायले बजार अव्यवस्थित बनिरहेको छ । नो पार्किङको वोर्ड राखिदिएपनी ट्राफिक प्रहरीले व्यवस्थापन गर्न चासो देखाईरहेको छैन ।
यता जीतपुरसिमरा उपमहानगरपालीकाका नगर प्रमुख राजन पौडेलले ६ लेन सडक निमयनको जिम्मेवारी स्थानिय तहको नभएको धारण राखे ।
सडक व्यवस्थापनको नेतृत्व लिने ट्राफिक प्रहरी र प्रशासनले नेतृत्व लिएर छ लेन सडकको मापदण्डलाई पुर्ण कार्यान्वयमा ल्याउनुपर्ने बताए । राष्ट्रिय राजमार्गको पुर्ण नियमन गरी सिमरा, पथलैया, जितपुर, परवानीपुर लगाएतका स्थानमा छ लेन सडकमै पार्किङ र अनधिकृत बजार हटाउन सवै पक्षको सहकार्य आवस्यक रहेपनी प्रहरी प्रशासन र ट्राफिक प्रहरी जिम्मेवारीबाट पन्छिन नमिल्ने पौडेलले धारणा राखे ।





Write your Comment