मन्त्री–प्रधानमन्त्रीको सम्पत्ति छानबिनबाट सुरु गर्ने गगन थापाको घोषणा

रातोघर

 २०८२ फागुन १६, शनिबार  मा प्रकाशित
४५३ पाठक संख्या


बारा, पर्सौनी — आसन्न निर्वाचनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ अन्तर्गत पर्सौनीमा आयोजना गरिएको चुनावी आमसभामा गगन कुमार थापा ले कडा राजनीतिक सन्देश दिएका छन्।
आमसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति थापाले चुनाव पश्चात् हालसम्म मन्त्री तथा प्रधानमन्त्री बनेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताए। उनले उक्त प्रक्रिया आफ्नै पार्टीबाट सुरु गर्नुपर्ने उल्लेख गर्दै पहिले पूर्व पार्टी सभापति शेर बहादुर देउबा को सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसपछि आफ्नै सम्पत्तिबाट सुरुवात गर्न तयार रहेको दाबी गरे।

थापाले राजनीतिज्ञ बन्नका लागि समाजसेवाको भावना अनिवार्य शर्त भएको उल्लेख गर्दै उक्त गुण बारा क्षेत्र नं. ४ का उम्मेदवार श्याम बाबू गुप्तामा रहेको बताए। “जनताको दुःख–सुख नबुझेको व्यक्ति साँचो नेता हुन सक्दैन,” उनले भने। यसै अवसरमा क्षेत्र नं. ४ का उम्मेदवार श्याम बाबू गुप्ताले आफू भाषण गर्न नभई काम गर्न राजनीतिमा आएको जिकिर गरे। उनले सुशासनयुक्त राष्ट्र निर्माणका लागि आफ्नो जित अनिवार्य रहेको दाबी गर्दै मतदातासँग विश्वास र साथको अपिल गरे।

कार्यक्रममा बारा क्षेत्र नं. ३ का उम्मेदवार तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले मधेसको मुहार फेर्नकै लागि सभापतिको आगमन भएको बताए। “माटो बुझेको व्यक्तिलाई नै टिकट दिइएको हो, त्यसैले मतदाता ढुक्क हुन सक्नुहुन्छ,” उनले भने। कार्यक्रममा हजारौंको सङ्ख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो। आमसभालाई कांग्रेसले मधेसमा आफ्नो प्रभाव सुदृढ गर्ने रणनीतिक कदमका रूपमा लिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban