जीतपुरसिमरा–२२ मा नयाँ प्रशासकीय भवन उद्घाटन, अब वडा सेवा थप सहज र प्रभावकारी हुने

रातोघर

 २०८३ अषाढ १३, शनिबार  मा प्रकाशित
१४ पाठक संख्या


बारा, । जीतपुरसिमरा उपमहानगरपालिका–२२ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। आयोजित कार्यक्रममा नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा रिबन काटी तथा शिलालेख अनावरण गर्दै भवनको औपचारिक उद्घाटन गर्नुभएको हो।
उपमहानगरपालिकाका अनुसार करिब ४० लाख रुपैयाँको लागतमा पाँच कोठे आधुनिक प्रशासकीय भवन निर्माण गरिएको हो। नयाँ भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक तथा नागरिक सेवाहरू थप व्यवस्थित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले स्थानीय सरकारको प्रमुख दायित्व नागरिकलाई गुणस्तरीय, सहज र छिटो सेवा उपलब्ध गराउनु रहेको बताउनुभयो। उहाँले त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणलाई उपमहानगरपालिकाले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नयाँ भवनले सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उपप्रमुख भोला प्रसाद अधिकारीले स्थानीय तहको सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा उपमहानगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो। वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु स्थानीय सरकारका लागि महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो।
कार्यक्रममा वडा नं. २२ का वडाध्यक्ष शेखरकाजी रुम्बा, जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीले नयाँ प्रशासकीय भवन निर्माणसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा थप छिटो, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्। आधुनिक पूर्वाधारसहित सञ्चालनमा आएको भवनले सेवाग्राहीलाई सहज वातावरणमा सेवा लिन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन