वन्यजन्तु संरक्षणमा समुदायको भूमिका जोड्दै सिमरामा गोष्ठी सम्पन्न

रातोघर

 २०८३ जेष्ठ २३, शनिबार  मा प्रकाशित
११ पाठक संख्या


सिमरा । डिभिजन वन कार्यालय, बाराको आयोजनामा वन्यजन्तु अपराध नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी अभिमुखीकरण गोष्ठी सिमरामा सम्पन्न भएको छ।वन्यजन्तु तथा वन स्रोतको संरक्षण, अवैध सिकार तथा चोरी–निकासी नियन्त्रण र मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वन उपभोक्ता समूहका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, सामुदायिक चोरी–सिकारी नियन्त्रण इकाई (CBAPU) का संयोजक, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गोष्ठीमा वन्यजन्तुको अवैध सिकार, चोरी–निकासी तथा वन्यजन्तुजन्य वस्तुको अवैध कारोबार रोक्न समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको विषयमा छलफल गरिएको थियो। साथै, मानव–वन्यजन्तु द्वन्द्वबाट हुने जनधनको क्षति कम गर्न अपनाउनुपर्ने सावधानी, वन्यजन्तु देखिएमा अपनाउनुपर्ने व्यवहार तथा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने प्रक्रियाबारे सहभागीलाई जानकारी गराइएको थियो।
प्रशिक्षकहरूले वन्यजन्तु संरक्षण सरकारी निकायको मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तह र समुदायको सक्रिय सहभागिताबिना संरक्षण अभियान प्रभावकारी हुन नसक्ने बताए। पछिल्लो समय हात्ती, बाघ र चितुवासँगको मानव द्वन्द्व बढ्दै गएकाले यस्ता सचेतनामूलक कार्यक्रम अझ प्रभावकारी हुने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।
कार्यक्रम तराई भू–परिधि तथा संरक्षण कार्यक्रम (TALCP) को सहयोगमा सञ्चालन गरिएको थियो। डिभिजन वन कार्यालय, बाराले यस्ता कार्यक्रमले वन्यजन्तु संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै वन्यजन्तु अपराध नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।
कार्यक्रममा वन अधिकृत बादल लम्साल, वर्षा लामा, सञ्जय चौधरी तथा रेञ्जर निरज पोखरेल ले वन, वन्यजन्तु संरक्षण र सम्बन्धित कानुनी व्यवस्थाबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा डिभिजन वन कार्यालय, बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झा प्रमुख सहभागीका रूपमा उपस्थित थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban