बारामा १५ बिघा राष्ट्रिय वन अतिक्रमणबाट मुक्त

रातोघर

 २०८३ अषाढ १७, बुधबार  मा प्रकाशित
१६ पाठक संख्या


बारा । बाराको कोल्हबी नगरपालिका–५ सखुवाहास्थित करिब १५ बिघा राष्ट्रिय वन क्षेत्र करिब दुई दशकपछि अतिक्रमणमुक्त गरिएको छ। डिभिजन वन कार्यालय बाराले विशेष अभियान सञ्चालन गरी उक्त वन क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याएको हो।

स्थानीय केही व्यक्तिले वर्षौंदेखि वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्दै आएका थिए भने केही भाग श्मशानका रूपमा समेत प्रयोग हुँदै आएको थियो। लामो समयदेखि अतिक्रमणमा रहेको वन क्षेत्र संरक्षणका लागि डिभिजन वन कार्यालयले सुरक्षा निकायको समन्वयमा अभियान सञ्चालन गरेको जनाएको छ।

सब–डिभिजन वन कार्यालयको नेतृत्वमा वन अधिकृत कृष्णकुमार पटेल, वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा व्यवस्थाका बीच अतिक्रमित क्षेत्र खाली गराएको हो। अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको थियो।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झा को निर्देशनमा सञ्चालन गरिएको अभियानअन्तर्गत वन क्षेत्रको सीमा निर्धारण गरी तत्काल तारबारको काम सुरु गरिएको छ। साथै भविष्यमा पुनः अतिक्रमण हुन नदिन नियमित निगरानीसमेत बढाइने कार्यालयले जनाएको छ।

वन अधिकृत कृष्णकुमार पटेलका अनुसार खाली गराइएको क्षेत्रमा तारबारसँगै वृक्षारोपण कार्यक्रम अघि बढाइएको छ। वर्षायामलाई लक्षित गर्दै स्थानीय वातावरणअनुकूल विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी भइरहेको उनले बताए।

वन कार्यालयका अनुसार यस अभियानले वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रमा हुने अतिक्रमण, अवैध बसोबास तथा अनधिकृत उपयोगविरुद्ध आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुरूप कडाइका साथ अभियान सञ्चालन गरिने जनाएको छ। साथै वन संरक्षणमा स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायको सक्रिय सहयोग आवश्यक रहेको पनि कार्यालयले उल्लेख गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban