भन्सार छली नेपाल भित्र्याइएका १० भारतीय इलेक्ट्रिक स्कुटर वीरगञ्जबाट नियन्त्रणमा

रातोघर

 २०८३ आश्विन १, बिहिबार  मा प्रकाशित
३ पाठक संख्या


वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा गरेको निगरानी तथा जाँचका क्रममा ती स्कुटरहरू बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नियन्त्रणमा लिइएका सबै इलेक्ट्रिक स्कुटर भारतीय नम्बर प्लेट तथा आवश्यक कागजातविहीन अवस्थामा फेला परेका थिए। प्रहरीले ती स्कुटरहरू भन्सार प्रक्रिया पूरा नगरी चोरी पैठारीमार्फत नेपाल ल्याइएको आशंका गरेको छ।

प्रहरीका अनुसार बरामद गरिएका १० वटा इलेक्ट्रिक स्कुटरको कुल अनुमानित मूल्य करिब ८ लाख रुपैयाँ रहेको छ। सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी सवारीसाधन तथा विभिन्न सामान नेपाल भित्र्याउने गतिविधिमाथि निगरानी बढाउने क्रममा स्कुटरहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।नियन्त्रणमा लिइएका स्कुटरहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पछिल्लो समय सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी सवारीसाधन तथा अन्य सामग्री नेपाल भित्र्याउने गतिविधि हुने गरेको भन्दै प्रहरीले सीमा नाका तथा वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निगरानी र जाँचलाई थप कडाइ गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा बरामद गरिएका इलेक्ट्रिक स्कुटरबारे थप अनुसन्धान भइरहेको उल्लेख छ।प्रहरीले भन्सार छली तथा चोरी पैठारीमा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban