

बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ ‘ख’ अन्तर्गतका वडा अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारी अघि बढाइएको छ। अधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा वडा तहमा पार्टी गतिविधि सक्रिय बनाउने विषयमा परवानीपुर गाउँपालिका–५ स्थित नौतन टोलमा कांग्रेसका नेता तथा कार्यकर्ताबीच छलफल गरिएको हो।आगामी ३ र ४ गते वडा अधिवेशन उत्साहपूर्वक सम्पन्न गर्ने निर्णयसमेत गरिएको कार्यक्रममा सहभागी नेताहरूले जानकारी दिएका छन्। अधिवेशनलाई लक्षित गर्दै क्षेत्रअन्तर्गतका चारवटै गाउँपालिकाका नेता तथा कार्यकर्ताहरूको सहभागितामा संगठनात्मक विषयमा छलफल भएको थियो।
कार्यक्रमको सञ्चालन नेपाल तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ताले गरेका थिए। कार्यक्रममा संविधानसभा सदस्य लालबाबु सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। प्रसौनी गाउँपालिका नेपाली कांग्रेसका सभापति हरि राउत पटेलले स्वागत मन्तव्य राखेका थिए।नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ ‘ख’का सभापति लोकेश सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला उपसभापति अमेरिलाल पाल, फेटा गाउँपालिका सभापति मनोज शाह, परवानीपुर गाउँपालिका कार्यवाहक सभापति लोहासिंह पटेल, युवा नेता दिनेश शाह, विजय गुप्तालगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
छलफलमा कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि नै संगठनलाई सक्रिय र व्यवस्थित बनाउने विषयमा जोड दिइएको थियो। स्थानीय तहमा पार्टीका गतिविधि प्रभावकारी बनाउने, नेता तथा कार्यकर्ताबीच समन्वय बढाउने र अधिवेशन प्रक्रियालाई सहज रूपमा अघि बढाउने विषयमा सहभागीहरूले धारणा राखेका थिए।कार्यक्रममा क्षेत्र नं. ४ ‘ख’ अन्तर्गत पर्ने चारवटै गाउँपालिकाका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेकाले वडा अधिवेशनको तयारीलाई व्यापक रूपमा अघि बढाउने संकेत देखिएको आयोजकले जनाएको छ।नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि अनिलकुमार साहले पार्टीको महाधिवेशन प्रक्रियालाई तल्लो तहबाटै मजबुत बनाउन वडा अधिवेशनको भूमिका महत्वपूर्ण रहेको बताए। उनका अनुसार वडा तहमा संगठनलाई व्यवस्थित र सक्रिय बनाउँदै अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने तयारी भइरहेको छ।





Write your Comment