

जीतपुर । नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत चयन भएका छन् । जीतपुरमा जारी क्षेत्रीय अधिवेशनबाट सिंहलाई क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएको हो ।
क्षेत्रीय सभापतिका लागि सिंहसँगै विजय यादव पनि आकांक्षी थिए । लामो समयसम्म सहमति जुट्न नसकेपछि भएको छलफल र रस्साकस्सीपछि अन्ततः सिंहको नाममा सहमति जुटाइएको हो ।सिंहलाई क्षेत्रीय सभापति बनाउन कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर पक्षबाट पहल भएको बताइएको छ । केही महिनाअघि सिंहले शेरबहादुर देउवा निकट निलम्बित सभापति राजेश राय यादवको साथ छाडेर मन्सुरको पक्षमा खुलेका थिए । त्यसयता कांग्रेसभित्र सिंहलाई सम्भावना बोकेको युवा नेताका रूपमा हेरिँदै आएको छ ।
सिंहलाई क्षेत्रीय सभापति बनाउने विषयमा कांग्रेसका स्थानीय नेताकार्यकर्ताहरूबीच पनि सकारात्मक धारणा बनेपछि सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो ।सिंह क्षेत्रीय सभापतिमा चयन भएसँगै अर्का आकांक्षी विजय यादवलाई क्षेत्र नं. ४(२) को सभापति चयन गरिएको छ । यस्तै, क्षेत्र नं. ४(१) को सभापतिमा छविलाल शर्मा चयन भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका निवर्तमान नगर सभापति शर्माले पुनः नगर सभापतिमा फर्कने इच्छा राखेका थिए । तर अन्तिम समयमा उनलाई क्षेत्र नं. ४(१) को सभापति बनाउने सहमति भएपछि रमेशप्रसाद पण्डितलाई नगर सभापति बनाइएको थियो ।संघीय तथा प्रदेश निर्वाचन क्षेत्रका सभापतिको टुंगो लागेसँगै अब केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि तथा क्षेत्रीय समितिका अन्य पदाधिकारी चयनका लागि कार्यदल गठन गरिएको छ ।





Write your Comment