

बारा ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट आफ्नै श्रीमती मृत्यु भएको भन्दै एक करोड दुइ लाख रुपैयाँ बीमा दावी भुक्तानी बापत रकम बुझेका बारा जिल्ला कलैयाँ उपमहानगरपालिका वडा नं २६ निवासी नाथु देवानलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीले हजरा खातुनको हत्यापछि बीमा दावी भुक्तानी घट्नामा मृतककी श्रीमान नाथु देवान, बीमा अभिकर्ता नाजिर अन्सारीसहित ३ जनालाई हिराशतमा लिएर अनुसन्धान भइरहेको बताए ।
नाथुराम देवानले बीमा अभिकर्ता नाजिर अन्सारीमार्फत २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा श्रीमती हजरा खातुनको नाममा बीमा गराएका थिए ।
बीमाको दोस्रो किस्ता भुक्तानी गरेको केही समयपछि बीरगन्जबाट कलैयास्थित घर फर्कदै गर्दा राति ९ः०० बजेको समयमा आफैले चलाएको मोटरसाइकलमा सल बेरिएर हजरा खातुुनको मृत्यु भएको जाहेरी प्रहरीलाई दिइएको थियो । देवानले प्रहरी र बीमा कम्पनी दुवैतिर सेटिङ गरी मृतक श्रीमतीको नाममा रहेको बीमा पोलिसीबाट एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँ बीमा दवी भुक्तानी लिएका थिए ।
गत असार ३१ गते बुझेको एक करोड रकम मध्ये केही रकम एशियन लाइफ इन्स्योरेन्स कम्पनीमै बुझाएको खुलेको छ ।
सुुरुदेखि नै शंकास्पद रहेको सो घटनामा प्रहरीले निष्पक्ष छानविन गरेको थिएन भने बीमा गर्ने कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ दिनेशलाल श्रेष्ठले दावी भुक्तानी दिन आदेश मात्रै दिएका थिएनन् अध्यक्ष दीपक श्रेष्ठ समेतलाई राखेर आफैले उक्त रकमको चेक हस्तान्तरण गरेको खुलेको छ ।
सामान्य पसल मासु पसल र टेलर चलाउँदै आएका नाथुराम देवानको आर्थिक हैसियत ५० लाख रुपैयाँको बीमा गर्न सक्ने थिएन । एशियन लाइफकै कलैया शाखाका प्रमुख सोनालाल सहनीले सेटिङमा अण्डरराईटिङ मिलाएर बीमा पोलिसी कटाएका थिए । सिईओ दिनेशलाल श्रेष्ठसँग विशेष सम्बन्ध भएका कलैया शाखा प्रमुख सहनीले हजरा खातुनको शंकास्पद निधनमा पर्याप्त छानविन नै नगरी दावी भुक्तानी दिन लगाएको खुलेको छ । सोनालाल सहनी लामो समयदेखि कलैया शाखामा बसेर काम गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले नाथुु देवान प्रहरी हिरासतमा रहेको पुष्टि गरेको छ । उनीमाथि हाल अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





Write your Comment