छोरी–बुहारी नाच्न थालेपछि टिकटक बन्यो टाउको दुखाइ

रातोघर

 ६ मंसिर २०८०, बुधबार १५:५७  मा प्रकाशित
६३१ पाठक संख्या



काठमाडौं ।

सामाजिक सद्भाव बिथोलेको तथा पारिवारिक संरचना र सम्बन्धलाई खल्बल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यसयता फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालहरूको प्रतिक्रिया हेर्दा बहुसंख्यकले प्रतिबन्धको समर्थन गरेको देखिन्छ ।

सोमबार माइतीघरमण्डलमा भएको प्रदर्शन बाहेक प्रतिबन्धको ठूलो विरोध भएको देखिंदैन । बहुसंख्यकले समर्थन गरेको देखेपछि मन्त्रीहरूको मनोबल बढेको अनुमान लगाउन सकिन्छ ।

जबकि खुलापन नेपाली समाजको गुण र सम्पत्ति हो । १०४ वर्षे निरंकुश जहानियाँ राणाशासन र ३० वर्षे पञ्चायती व्यवस्था ढल्नुमा नागरिकमा रहेको स्वतन्त्रताको चाहनाले काम गरेको थियो । २०६२/६३ को आन्दोलनमा पनि मानिसहरू निरंकुशता पक्षधर र स्वतन्त्रतामाथि धावा बोल्ने शक्ति विरुद्ध सडकमै उत्रिएका थिए ।

तर यसरी स्वतन्त्रताका लागि पटक–पटक लडेको समाज सर्वसाधारणमा असाध्यै लोकप्रिय माध्यम बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा धेरै हदसम्म सहमत देखिनु संगतिपूर्ण लाग्दैन । अझ गणतन्त्रात्मक शासन प्रणाली कायम रहेको मुलुकमा अभिव्यक्तिका कुनै पनि माध्यम नियन्त्रणको कल्पना गर्न सकिंदैन ।

समाजशास्त्री दिपेश घिमिरे, टिकटक प्रतिबन्धको निर्णयमा कसले समर्थन गरिरहेको छ भन्ने हेर्नुपर्ने बताउँछन् । ‘तुलनात्मक रूपमा हेर्यौं भने पुरुषहरू सरकारको निर्णयको पक्षमा छन्, महिला विपक्षमा देखिन्छन्’ घिमिरेले अनलाइनखबरसँग भने, ‘टिकटकमा महिलाहरू बढी इङ्गेज भएको देखिन्छ, तर आम दृष्टिकोण बनाउन पुरुष हावी हुन्छन् । उनीहरूले टिकटकले छाडापन बढायो, यसलाई नियन्त्रण गर्नु ठीकै हो भने धारणा बनाएको देखिन्छ ।’

टिकटक प्रयोगबारे भएको तथ्यांक हेर्दा पनि समाजशास्त्री घिमिरेको तर्क बलियो छ । किनकि टिकटकका प्रयोगकर्ता महिला धेरै छन् । अनि समग्र सामाजिक सञ्जालका प्रयोगकर्ता पुरुष धेरै छन् । जस्तो कि फेसबुकका करिब ३ अर्ब सक्रिय प्रयोगकर्तामध्ये ५६.५ प्रतिशत पुरुष छन् भने ४३.५ प्रतिशत मात्रै महिला छन् । टिकटकको हकमा ठीक उल्टो छ । यसका प्रयोगकर्तामध्ये ५५.३ प्रतिशत महिला छन् भने ४४.७ प्रतिशत मात्रै पुरुष

टिकटक सम्बन्धमै प्रकाशित एक लेख अनुसार, महिला प्रयोगकर्ता बढी हुनुको प्रमुख कारण त्यहाँ राखिएका सामग्री सहजै धेरैमाझ पुग्नु हो । किनकि टिकटकको अल्गोरिदम रुचिका आधारमा बनाइयो, अरू सामाजिक सञ्जालमा जस्तो साथी वा फलोअर्सका आधारमा होइन । यसले गर्दा महिलाले टिकटकमा भनेको आफ्ना कथाहरू सहजै धेरै मानिसमाझ पुग्यो । यसले गर्दा महिला प्रयोगकर्ता टिकटकमा बढी छन् ।

अनि टिकटकमा लोकप्रिय क्याटगोरी (विधा) हो, डान्स । इन्फ्लुएन्सर (प्रभावशाली मानिसहरू) कोरियोग्राफीका लागि चलेको गीत प्रयोग गर्छन्, जसलाई विश्वभरका मानिसहरूले पछ्याउँछन् । व्यावसायिक डान्सरदेखि सर्वसाधारणसम्म जोडिएको यो विधामा दैनिक हजारौं भिडियो अपलोड हुने गरेका छन् ।

मानवशास्त्री डा.श्यामु थापामगर नेपालमा टिकटकको प्रयोगकर्ता महिला धेरै हुनुमा यसले दिएको सुविधा नै कारक रहेको बताउँछिन् । ‘पुरुषहरूले आफ्नो कुरा राख्दै आएका छन्, समाजको निर्णय उनीहरूको अनुकूलतामा हुँदै आएको छ । तर, टिकटकले महिलालाई आफ्नो कुरा र गुनासाहरू सहजै राख्ने सुविधा दियो’, उनी भन्छिन् ।

कामकाजी महिलाले टिकटक मार्फत नै आफूभित्र लुकेको चाहना प्रकट गरिरहेको मानवशास्त्री थापामगरको भनाइ छ ।

भिडियो बनाउने र भ्यूअर बढाउने दौडमा स्वतन्त्रताको सीमा नाघेको तथ्य लुक्दैन । फेसबुकले सुरु गरेको रिल्स होस् वा युट्युबले ल्याएको सट्र्समा पनि त्यस्ता भिडियोहरूले राम्रै स्थान बनाएका छन् । तर पनि टिकटककै कारण छाडापन बढ्यो र परिवार भत्कियो भन्ने निष्कर्षलाई धेरैले समर्थन गरेको देखिन्छ ।

मानवशास्त्री थापामगर भने टिकटकबाट छाडापन भित्रिएको दृष्टिकोण पुरुषप्रधान समाजको मनोविज्ञान भएको बताउँछिन् । ‘टिकटक प्रतिबन्धबारे गरिएको तर्क सुन्दा नै पुरुष चिन्तनबाट ग्रसित छ । किनकि महिलाको शरीरमाथिको नियन्त्रण सधैं पुरुषप्रधान समाजको टाउकोदुखाइ बन्ने गर्छ’, उनी भन्छिन् । तर टिकटकले वर्षौंदेखि स्थापित त्यस्तो ‘नैतिकता’को सीमा भत्काएपछि प्रतिबन्धको निर्णयलाई स्वागत गरिएको हुनसक्ने उनको बुझाइ छ ।

टिकटक हेर्दा पनि नेपालका दूरदराज र परदेश पुगेका छोरी–बुहारी नाचेको र स्वतन्त्र भएर बोलिरहेको हेर्न/सुन्न सकिन्छ । त्यस्तो स्वतन्त्रता हेर्न नचाहनेको भाषा सत्ता र समाजमा प्रकट भएको अनुमान गर्न सकिन्छ । ‘सांस्कृतिक कार्यक्रमहरूमा छोरीहरू नचाइन्थ्यो, तर त्यसमा परम्पराको (पुरुषप्रधान) नियन्त्रण थियो । तर टिकटकले स्वतन्त्र नाच्ने, बोल्ने सुविधा दियो’, उनी भन्छिन् ।

समाजशास्त्री घिमिरे पनि टिकटकले नेपाली समाजको ढोंगलाई चुनौती दिएको तर्क गर्छन् । ‘नेपाली समाज विरोधाभाषी र ढोंगी छ । यो देखाउन हुँदैन भन्छौं, लुकी–लुकी त्यही हेरिरहेका हुन्छौं । बेठीक हो भन्छौं, तर हाम्रो आफ्नो जीवनमा प्रश्न गर्यो भने अपवाद हो भन्छौं’ उनले भने, ‘लामो समयदेखि हाम्रो समाज ढोंगी हिसाबले चलिरहेको छ ।’

तर पछिल्लो समय त्यसलाई भत्काएपछि टिकटकले छाडापन बढायो भन्ने भाष्य बलियो बनाइरहेको उनको तर्क छ । सरकारले त्यही कारण देखाएर टिकटकमाथि प्रतिबन्ध लगाएको छ, अनि प्रमुख दलहरूले प्रतिबन्धको सोझो घुमाउरो समर्थन गरेका छन् ।

दलहरूको साझा शत्रु

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयलाई स्वागत गरिनुको राजनीतिक कारण पनि छ । किनकि एकपछि अर्को सरकारले डेलिभरी दिन सकेका छैनन् । आर्थिक संकट चुलिएको छ, अनि देश छाड्ने लहर चलेको छ । नेपालीले पढ्न होस् वा रोजगारीका लागि होस्, देश छाड्ने गरेको वर्षौं भइरह्यो ।

तर, अहिले सबैले देख्ने गरी प्रकट भएको छ । अवस्था यस्तो भइसक्यो कि नेपालमै बस्छु भनेका मानिसलाई पनि मैले गल्ती गरें कि भन्ने लाग्न थालेको छ ।

यसले आम नागरिकमा चरम निराशा छ । स्वाभाविक रूपमा यस्तो निराशा राजनीतिक व्यवस्था र त्यसलाई चलाउनेहरूमाथि पोखिन्छ । अनि सबैजसो सामाजिक सञ्जालले सदैव लोकरिझ्याइँलाई प्रश्रय दियो, भाइरल बनाइरह्यो ।

राजनीतिमा आएका नयाँ शक्तिहरू पनि यस्ता सामाजिक सञ्जाल मार्फत नै घरघरमा पुगे । उनीहरूले पछिल्लो समय टिकटकलाई जसरी उपभोग गरिरहेका थिए यसबाट सत्तामा रहेका होस् वा प्रतिपक्षमा रहेका प्रमुख पार्टीका नेताहरू आत्तिएका थिए । किनकि आम मानिसले अहिलेको नेतृत्वले केही गर्छन् भन्ने विश्वास गर्न सकेका छैनन् र नयाँतिर आकर्षित भएका छन् ।

अहिलेको राजनीतिक प्रणालीको विपक्षमा रहेकाहरूले पनि संस्थागत रूपमै सामाजिक सञ्जालको उपयोग गरेका छन् । दुर्गा प्रसाईंले सामाजिक सञ्जाल मार्फत नै अफवाह फैलाएका छन् । कुनै समय नेताहरूसँगै कुम जोडेर बस्ने प्रसाईंले चलाएको अफवाह फैलाउन टिकटक सबभन्दा प्रभावशाली माध्यम बन्यो ।

कसैले आफ्नो स्वतन्त्रताको मूल्य प्रयोग गर्न अरूको स्वतन्त्रतामाथि आक्रमण गर्छ भने त्यो स्वीकार्य हुन्न । यसर्थ प्रसाईंले राजनीतिक नेतृत्वमाथि लगाएको आरोप या त प्रमाणित गर्नुपर्छ, नभए कानुन अनुसार कारबाही भोग्नुपर्छ । यसलाई अभिव्यक्ति स्वतन्त्रता भनेर छुट दिन सकिंदैन ।

तर यसका लागि अहिलेको मौजुदा कानुन अपर्याप्त हुनसक्छ । किनकि हिजो कानुन बनाउने क्रममा टिकटक मात्र होइन, फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल थिएनन् । त्यसैले अहिले कानुन आवश्यक हुनसक्छ । २३ कात्तिकमा सरकार स्वयंले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गर्नुका साथै विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको थियो ।

तर, कानुन ल्याएर नियमन गर्नुको साटो टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लियो । ‘सामाजिक सञ्जालहरूको नियमन गर्नुपर्छ भनेर निर्देशिका आइसकेको छ, ऐन बनाउँदैछौं’ सबै सञ्जाल नियन्त्रण गर्ने सरकारको मनसाय नरहेको भन्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला भन्छन्, ‘सामाजिक सञ्जालको नियमन हुन्छ, टिकटक चाहिं बन्द नै गर्नुपर्छ भनेर यो कदम चालिएको हो ।’

सरकारको निर्णयको प्रमुख दलहरूले समर्थन गरेका छन् । सत्तारुढ गठबन्धनमा पनि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायत बाहेक अरू टिकटकमाथि प्रतिबन्धकै पक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेन ।

१२ बुँदे सहमति पक्षधर भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ कात्तिकमा बोलाएको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओलीले टिकटकमाथि प्रतिबन्ध लगाउन माग मात्रै गरेनन्, सरकारले निर्णय गर्छ भने आफू अहिले नै त्यसको पक्षमा सार्वजनिक वक्तव्य दिन तयार भएको बताएका थिए ।

सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मौन रूपमा यसमा सहमति जनाएका छन् । प्रमुख पार्टीका अपवाद बाहेक सबै नेताहरू टिकटकलाई नियन्त्रण गर्न सक्यो भने जसले चुनौती लिएका छन्, उनीहरूलाई पनि नियन्त्रण गर्न सकिन्छ भन्नेमा एकमत देखिएको बताउँछन् समाजशास्त्री घिमिरे ।

प्रमुख दलका शीर्ष बाहेक नेता र कार्यकर्ता पनि टिकटक प्रतिबन्धकै पक्षमा उभिएका छन् । त्यसको कारणबारे समाजशास्त्री घिमिरे भन्छन्, ‘एउटा जेनेरेसन, जसले लामो संघर्षबाट यो राजनीतिक परिवर्तन ल्यायो, यो संस्थागत नहुँदा असन्तुष्ट छ । तर उसलाई यसको विपक्षमा जान मन छैन । उनीहरूमा पनि लोकतन्त्र, गणतन्त्र विरोधी दृष्टिकोणहरू रोकिए हुन्थ्यो भन्ने भावना पाउँछु ।’

टिकटक साम्राज्य  

टिकटकभन्दा पहिला एउटा एप थियो, म्युजिकल्ली । एलेक्स झू र लुयू यानले सन् २०१४ मा अनलाइन लर्निङ प्लेटफर्मका रूपमा बनाएको म्युजिकल्ली सुरुमा खासै चलेन । तर, जब गीतमा लिप्सिङ गर्ने र आफैं भिडियो बनाएर हाल्न मिल्ने बनाए, चीन र अमेरिकाका युवाहरूमाझ लोकप्रिय भयो । यो एप मे २०१६ मा ७ करोड पटक डाउनलोड भइसकेको थियो ।

अर्को चिनियाँ कम्पनी बाइटडान्सले सेप्टेम्बर २०१६ मा नयाँ एप ल्यायो, डुयन ।  मात्र २०० दिनमा तयार भएको यो एपमा वर्ष दिनमा १० करोड प्रयोगकर्ता भए । सेटेम्बर २०१७ मा चीनमा डुयनलाई कायम राख्दै अन्तर्राष्ट्रिय बजारमा भने टिकटकका रूपमा प्रस्तुत गर्यो । अनि प्रतिस्पर्धी एप म्युजिकल्लीलाई खरिद गरेपछि त अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को रेकर्ड बनायो ।

यसको कारण सेलिब्रेटी र हाइप्रोफाइल मानिसहरूले यसप्रति देखाएको रुचि हो । द गार्डियन’ ’को एक रिपोर्ट अनुसार कुनै पनि उदीयमान एपको सफलता कति छिटो सेलिब्रेटीसँग जोडिन्छन् भन्नेमा भर पर्छ । स्न्यापच्याटको सफलता काइली जेनरसँग जोडिएको छ भने इन्स्टाग्रामको सेलेना गोमेज र ट्वीटरको डोनाल्ड ट्रम्पसँग । टिकटकलाई भने अमेरिकी कमेडियन जेमी फालनले फैलाए ।

पछिल्लो तथ्यांक अनुसार टिकटकमा सक्रिय प्रयोगकर्ता डेढ अर्ब पुगेका छन् । यसले ट्वीटर, स्न्यापच्याट, टेलिग्राम जस्ता सामाजिक सञ्जाललाई उछिनेको छ ।

सर्च इन्जिन जर्नलका अनुसार विश्वभर ४.८ अर्ब सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । एक जना प्रयोगकर्ताले औसतमा महिनामा ६ वा सोभन्दा बढी सामाजिक सञ्जाल चलाउँछन् र दिनमा २ घन्टा २४ मिनेट खर्चिन्छन् । र, सबभन्दा धेरै समय टिकटकमा बिताउँछन् । एक जना प्रयोगकर्ताले औसतमा महिनामा ३१ घन्टा ३२ मिनेट समय टिकटकमा बिताउने गरेका छन् ।

जबकि फेसबुकमा एक जना प्रयोगकर्ताले महिनामा औसत १९ घन्टा ४३ मिनेट बिताउँछ, जुन अघिल्लो वर्षको तुलनामा ८ मिनेट मात्रै बढी हो । युट्युबमा एक जना प्रयोगकर्ताले महिनामा औसतमा २३ घन्टा ९ मिनेट बिताउँछ । तर यो जुन अघिल्लो वर्षको तुलनामा झण्डै ३२ मिनेट कम हो ।

सामान्यतः टिकटकको भिडियो १५ सेकेण्डको हुन्छ, तर प्रयोगकर्ताको ध्यान तान्न र सेन्स अफ अर्जेन्सी (तात्कालिकताको भावना पैदा गर्नु) पर्याप्त हुन्छ । त्यसपछि स्क्रोलका लागि औंलाहरू चल्छन् । अनि टिकटकमा समय बितेको पत्तै हुँदैन । चुजिङ थेरापीमा प्रकाशित एक लेख अनुसार सामाजिक सञ्जालको लतलाई अहिलेसम्म निदानयोग्य स्थिति मानिएको छैन ।

तर जसरी कुनै व्यक्तिमा भिडियो गेम वा इन्टरनेटको लत हुन्छ, सामाजिक सञ्जालको पनि त्यस्तै हुन्छ । कतिपय मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार मानिसहरूको भावनात्मक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभाव देखिएको छ ।

परिवारका सदस्यहरूमा टिकटकको बढ्दो लतका कारण आम मानिसहरू पनि प्रतिबन्धको पक्षमा देखिएका छन् । ‘किशोरीहरू एकदमै आक्रोशित छन्, तर अरू चाहिं प्रयोगकर्तासँगै प्रभावित भएकाले प्रतिबन्धको विरोधमा देखिएनन्’ टिकटकलाई प्रतिबन्ध लगाउनुको साटो कानुन बनाएर निगमन गर्नुपर्ने मत राखेका एक नेता भन्छन्, ‘टिकटक नेपाली समाजले राम्ररी नथेगिरहेको चाहिं देखियो ।’

Write your Comment