

वीरगञ्ज ।
अर्थतन्त्र गहिरो मन्दीमा रहेको आयातको तथ्याङ्कले देखाएको छ। पर्वहरूका कारण सबैभन्दा धेरै सामानको माग हुनुपर्ने महिनामै आयात खुम्चिएको छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिकमा जम्मा १ खर्ब ५ अर्ब रुपैयाँको आयात भएको छ ।
दसैँ, तिहार र छठ जस्ता पर्व भएको महिनामै आयात खुम्चिएका कारण त्यसको असर राजस्व सङ्कलनमा परेको छ । कात्तिकमा जम्मा ५७ अर्ब राजस्व सङ्कलन भएको सरकारी तथ्याङ्क छ । कात्तिकमा १४ दिन बिदा परेका कारण पनि राजस्व कम सङ्कलन भएको हो । असोजमा १ खर्ब ४८ अर्बको आयात भएको थियो ।
विभागका अनुसार चालू वर्ष कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात ३.७९ प्रतिशतले कम हो । गत वर्ष कतिपय विलासी वस्तुको आयातमा प्रतिबन्ध थियो । त्यसका बाबजुद चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोडको वस्तु तथा सेवा आयात भएको थियो ।
आंशिक प्रतिबन्ध लगाइएका बेलाभन्दा यसपालि आयात कम हुनु र आन्तरिक उत्पादन नबढ्नुले बजारले मन्दीको सामना गरिरहेको स्पष्ट भएको छ ।
उत्पादन नबढेको निर्यातको तथ्याङ्कबाट देखिन्छ । चार महिनामा निर्यात पनि खुम्चिएको छ । कात्तिकसम्म जम्मा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६८ प्रतिशत कम हो। गत आर्थिक वर्ष चार महिनामा ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो ।
आयातमा उल्लेख्य गिरावटले व्यापार घाटा भने घटेको छ । गत आर्थिक वर्ष साउनदेखि कात्तिकसम्म ४ खर्ब ७७ अर्ब ९१ करोड व्यापार घाटा रहेकामा यसपालि सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड घाटा भएको विभागले जनाएको छ ।





Write your Comment