

फत्तेपुर ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१२मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुर बाराको २२औं बार्षिक साधारणसभा सुक्रबार सम्पन्न भएको छ ।
संस्था परिषरमा आयोजित सभाको जितपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी पौडेलले पालिकाभरी संचालनमा रहेका सहकारीहरुको समन्वयमा उत्पादन क्षेत्रमा काम गर्ने नगरको चाहना रहेको बताउनु भयो ।
हामी सहकारीका साझा समस्यालाई समाधानको उपाय खोज्ने र साझा समन्वयमा उत्पादन वृद्धिमा सहकारीलाई लगाउन के गर्न सकिन्छ धारणा बनाएर अघि बढ्न चाहन्छौं । यसका लागि उपयूक्त समयमा कार्यक्रमको आयोजना गर्ने छौं , उहाँले भन्नु भयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेडका सचिव रामएकवाल चौधरी, श्री ने.रा.मा.बी. फत्तेपुरका प्रधानअध्यापक अक्षय चौधरी, साना किसान सहकारी डुमरवानाका अध्यष प्रदिपसिंह बराल, भोडहाका अध्यक्ष विन्दासिंह राजपुत, राष्टिय सहकारी बैंक शाखा सिमराका प्रमुख चन्द्रमणी भट्टराई साना किसान विकास लघुवित्त वित्तिय संस्थाका कार्यक्रम अधिकृत प्रकाश पाण्डे र पुष्पराज मैनाली लगायतले बोल्नु भएको थियो ।
८३ जना पुरुष सहित २ हजार ५ सय सदस्य रहेको सहकारी संस्थाले आर्थीक बर्ष २०७९।०८०मा गरेको ९७ लाख ३९ हजार खुद मुनाफाबाट सदस्यहरुलाई १४ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
संस्थाले बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ठ कारोबार गर्ने २२ जना सदस्य र विध्यार्थी तथा जेष्ठ नागरिक समेत गरी २९ जनालाई सम्मान सहित पुरस्कृत गरेको थियो ।
संस्थाका अध्यक्ष जयकिशुन प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सहायक प्रबन्धक अश्विन कुमार गौतमको संचालनमा सम्पन्न भएको हो ।
सभाले संस्था प्रबन्धक कविता कुमारी बस्नेतले पेश गर्नुभएको बार्षिक प्रगती र आगामी बजेट तथा कार्यक्रम सुझाव सहित पास गरेको छ ।





Write your Comment