कृपा दैनिकको २१ औं बार्षिकोत्सव सम्पन्न तिनजना पत्रकार पुरस्कृत, दुईजना सम्मानित

रातोघर

 २०८० फागुन ६, आईतबार  मा प्रकाशित
३४६ पाठक संख्या


बारा ।
जिल्लाकै सबैभन्दा पहिलो दैनिक पत्रिकाको रुपमा रहेको कृपा दैनिकले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ । कृपाले शनिबार निजगढ नगरपालिका ८ स्थित उघोग बाणिज्य संघको सभाहलमा प्रेस काउन्सीलमा अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आथित्यतामा २१ औं बार्षिकोत्सव मनाएको हो ।

कृपा दैनिकले पत्रिकाकाका संस्थापक सम्पादक कमल कुमार उपाध्यायकी ममतामयी माता उमा(जानकी) देवी उपाध्यायको नाउँमा स्थापना गरिएको उमादेवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार र कार्यकारी सम्पादक कृष्णउदास खनालका पुजनीय पिता चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट तीन जिल्लाका तीनजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

उमादेवी स्मृति पत्रकारिता पुरस्कार रौतहटका पत्रकार फणी महत र सर्लाहीका पत्रकार ओम प्रकाश ठाकुरलाई प्रदान गरिएको छ । सो पुरस्कारको नगद राशी २५ हजार रुपैयाँ रहेको छ । पत्रकार ठाकुरले भने आफूले पाएको २५ हजार नगद स्वास्थ्य समस्याका कारण उपचार गराईरहेका पत्रकार महतलाई हन्तान्तरण गरेका थिए ।
त्यसैगरी चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराकी पत्रकार शारदा पोखरेललाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशी १० हजार रुपैयाँ रहेको छ ।

दुई जनालाई सम्मान

त्यसैगरी सञ्चारमाध्यमको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने कृपाका पत्रकार पुष्पराज खतिवडा र पुर्व कार्यकारी सम्पादक राकेश पाण्डेलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्याय, सम्पादक गोकुल प्रसाद घोरसाईनेले नगद राशीसहित पत्रकारलाई पुरस्कृत गरेका थिए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले मर्यादित र जनउत्तरदायी पत्रकारितामा जोड दिन आग्रह गरेका थिए । समाजको तेस्रो आँखाको रुपमा रहेको पत्रकारिताको मर्म र भावनामा रहेर पत्रकारिता गर्न सकिए सामाजिक न्याय र सुशासन स्थापित हुन टेवा पुग्ने बस्नेतको भनाई थियो ।

कार्यक्रममा सांसद मैनालीले पत्रकारिता क्षेत्रले समाजमा पुर्याउन सक्ने योगदानको चर्चा गरेका थिए । यसैगरी नगर प्रमुख पुरीले व्यवस्था परिवर्तनका लागि संचार क्षेत्रको खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईं, प्रेस संगठनका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सन्तोष दंगाल, राप्रपा नेपालका नगर कमिटी अध्यक्ष खड्कप्रसाद मैनालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्पादक घोरसाईनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक सम्पादक उपाध्यायले स्वागत मन्तब्य राखेका थिए भने सहजीकरण कार्यकारी सम्पादक कृष्णउदास खनालले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban