

बारा ।
जिल्लाको सुवर्ण गाउँपालिका वडा नं.६ मुसहर्नाकी कोरैसा खातुनको घरका आईतबार विहान १० बजे करिबमा अचानक आगलागी भयो । आगलागीमा परि उनको घरमा भएको अन्न, लत्ताकपडा र नगद दशहजार रुपैंया समेत जलेर नष्ट भयो ।
कोरैसाको काखमा तीन महिनाको दुधे बालक छ । एउटा ३ र अर्को ५ बर्षका गरी अन्य दुई छोरापनी छन् । उनका पती भारतमा कमाउन भनी गएका चार महिना देखी सम्पर्कमा छैनन् । उनी छोराहरु सहित सासु ससुरासँगै बस्दै आएकीछन् ।
आईतबार मुस्लिम समुदायले मनाउने सोवरात पर्व पनि हो । आजको दिन विभिन्न परिकार बनाएर खाने र भोली दिनभर रोजा बस्ने गर्दछन् ।
तर आगलागीले कोरैसाको परिवारमा अकल्पनीय क्षेती पुर्यायो । आगलागीबाट मानविय क्षेती त भएन । तर फुसको घर सहित त्यहाँ रहेका खाध्यान्न लत्ताकपडा जलेर नष्ट भएपछि उनका ६ जनाको परिवारको विचल्ली भयो । सोबरात पर्वका लागि तयारी गरिएका सबै अन्नपात कामै नलाग्नेगरी नष्ट भयो । पर्वका दिन बालकहरु सहित भोकै बस्नु पर्ने अवस्था बन्यो ।
यसरी पर्वका दिन विचल्लीमा परेको कोरैसाको परिवारलाई ईस्लामिक रिलिफ नेपाल र ईस्लामीक रिलिफ क्यानडाको सहयोगमा जेजेवाईसी बाराको आयोजनामा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजनाले आवश्यकतामा आधारित सहयोग स्वरुप १५ हजार रुपैंया बराबरको खाध्यान्न सहितका अत्यावश्यक सामान प्रदान गरी सहयोग गरेको छ ।
जनजागरण यूवा क्लब (जेजेवाईसी) बाराका उपाध्यक्ष राजदेव साहले कोरैसाको परिवारमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । उनले आगलागीमा परि नष्ट भएको उनको घर निर्माणका लागि स्थानिय पालिका मार्फत केन्द्र सरकारले प्रदान गर्ने २ लाख रुपैंयाको सहयोग उपलब्धताका लागि समेत पहल गर्ने बताए ।
विपत्तीमा संस्थाबाट करिब एकमहिनालाई पुग्ने खाध्यान्न सामाग्री सहयोग पाउँदा कोरैसाले खुशी ब्यक्त गरिन् ।
खाध्यान्न सामाग्री हस्तान्तरणका समयमा सेवा युवा क्लबका अध्यक्ष आमिर खान पठान सहित स्थानीय सहभागी थिए ।






Write your Comment