बारा ।
निजगढ नगरपालिका वडा नं. ७ स्थित वर्कशपमा सोमबार भएको लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु विष्फोटको घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
उक्त घटनामा परि गम्भीर घाईते मध्ये थप दुईजनाको मृत्यु भएको हो । यसअघि ग्यास सिलिण्डर विष्पोट भएको जनाएको प्रहरीले आजभने “शंकास्पद वस्तु पड्किएर ३ जना व्यक्तिहरूको मृत्यु”भनी संच्याएर प्रेस नोट जारी गरेको छ ।
विष्फोटमा परि गम्भीर घाईते भएका वीरगन्ज महानगरपालिका ९ का २० वर्षीय रितु रजतको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । यस्तै भारत गुवाईका ३५ वर्षीय राकेश जयसवालको सोमबार राती उपचारकै क्रममा मृत्यु भएको थियो ।
रजत र जयसवालको बयोधा अस्पतालमा उपचार भईरहेको थियो । उक्त घटनामा परि यसअघि ग्यारेज संचालक ४५ वर्षीय रेशम मगर मृत्यु भएको थियो ।
घटनामा अन्य तीन जना घाईते छन् । घाईतेमध्ये भारत रामगढवाका २० वर्षीय अरविन साहको अवस्था गम्भीर छ । साहको बयोधा अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी घटनामा वीरगन्ज ९ का फिरोद देवान र निजगढ ५ का सुर्यबहादुर थापा सामान्य घाईते छन् ।
निजगढ ७ स्थित रोहित वर्कशपमा विष्फोट भएको उक्त शंकास्पद वस्तुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले के विष्फोट भएको हो भन्ने खुलाएको छैन । यसअघि सिलिण्डर पड्किएको भनेर सूचना प्रवाह गरेको प्रहरीले आफ्नो सूचना सच्याउदै शंकास्पद वस्तु विष्फोट भएको जनाएको हो ।
विष्फोट भएको स्थलमा फलामको टुक्रा भेटिएका छन् । उक्त टुक्रालाई प्रहरीले ल्याब परिक्षणका लागि पठाउने तयारी गरिरहेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । विष्फोट भएको उक्त वस्तु अहिले शंकास्पद रहेको र ल्याब परिक्षणपछि मात्रै भन्न सकिने उनले बताए ।
प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि भारत मोतिहारीका रमेश जैसवाल र निजगढ ९ का २९ वर्षीय टिकाराम पाख्रीनलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार पाख्रीनले उक्त वस्तु कवाडीको कारोबार गर्ने जयसवाललाई बेचेका थिए । जयसवालले उक्त वस्तु काट्नका लागि भन्दै वर्कशपमा लगेका थिए ।
फलाम जस्तो देखिने उक्त वस्तुभित्र तामा रहेको भन्दै ग्यारेजका संचालकलाई एक सय रुपैया दिएर लेथ मेसिनबाट काट्ने क्रममा विष्पोट भई मानविय क्षती भएकोे उनले बताए ।
Write your Comment