

सखुवाघाट ,बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ सखुवाघाटमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो समिक्षा भेला सम्पन्न भएको छ । शनिबार पिलुवा स्थीत शान्ती पार्कमा आयोजित भेलाको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहुनु भएका पौडेलले संघ संस्थाका कार्यक्रममा जाँदा हल बनाउनु पर्यो भनी बजेट मागेर आतंकित पार्ने गरेको गुनासो गर्नु भयो ।
गुनासोबाटै मन्तब्य सुरु गर्नु भएका नगरप्रमुख पौडेलले भने “संघ संस्थाले बजेट मागेर आतंक मच्चाए । वन समिति,खानेपानी, सहकारी लगायत संघ संस्था जहाँगयो सभा हल भनेर आतंकित बनाए । यो गलत प्रवृतीको विकास हुँदैछ । जुन दुःखद् हो । ”
उपभोक्ता समितिका कार्यक्रम संचालनकले खानेपानी तथा सरसफाई समितिले आयोजना गर्ने कार्यक्रमहरु हल नहुँदा समस्या भएको भन्दै सभाहल बनाईदिन नगरप्रमुखसँग बजेटको अपेक्षा राखेका थिए ।
पौडेलले उनको अपेक्षाको प्रतिवाद गर्दै अघि भने “कंक्रिटको विकासले मात्रै हुँदैन । आगामी दिनमा सामाजिक रुपान्तरणका लागि काम गर्ने योजनामा छौं । बजेटको तयारी छौं । अवको बजेट पृथक हुनेछ ।”
यस्तै नगरउपप्रमुख भोला प्रसाद अधिकारीले खानेपानी तथा सरसफाई उपभोक्ता समितिले छोटो समयमा उल्लेखिय काम गरेको बताए । संस्थालाई प्रवृधिमैत्री ,पारदर्शी र नाफामा संचालनको गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो ।
यसैगरी ब्रम्हाकुमारी राजयोग क्षेत्रीय कार्यालय विरगजंकी प्रमुख रविना दिदिले पानी विनाको प्राण कल्पना गर्न नसकिने बताउनु भयो । उहाँले स्वस्थ सफा पानी र वातावरण प्राणीको स्वस्थ लामो जीवनका लागि महत्वपूर्ण हुने भन्दै पानी र वातावरणलाई सँधै सफा राख्नु पर्ने बताउनुु भयो ।
कार्यक्रममा संस्थामा नियमित र समयमै पानीको शुल्क बुझाउने ५ जना असल ग्राहक सदस्यलाई सम्मान गरिएको थियो । सन्त बहादुर लामा,नुरमान श्रेष्ठ, सावित्री देवी उप्रेती, सेते बहादुर तामाङ्ग र दिल्ली प्रसाद पाध्य सम्मानित हुनु भएको हो ।
२०७० सालमा स्थापना भएको खानेपानी तथा सरसफाई उभोक्ता समिति सखुवाघाटले २४ सै घण्टा खानेपानी वितरण गर्दै आएको छ । राजमार्गको ८ किलो, नजिकैको पिकनिक पार्क लगायत २३ स्थानमा सार्वननिक निःशुल्क धारा जडान गरेको संस्थामा हाल ७७२ निजी प्रयोजनका धारा संचालनमा रहेको जनाईएको छ ।
मोबाईल एपबाटै पानीको महशुल भुक्तानी गर्न सकिने प्राविधिक ब्यवस्था सहित संचालिन संस्थाले गतबर्षमा ९२ लाख ९ हजार ७४०को कारोबारमा ३ लाख ९७ हजार ६८४ रुपैंया मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।
खानेपानी तथा सरसफाई उभोक्ता समिति सखुवाघाटका अध्यक्ष राधेश्याम शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.१६ का पूर्व अध्यक्ष केदारनाथ बजगाँई, संस्थाका उपाध्यक्ष पुष्पराज थापा मगर, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानको संचालक नमराज श्रेष्ट, पलट प्रसाद चौधरी, हलखोरिया साझेदारी वन ब्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराई, सिमरा खानेपानीका अध्यक्ष कासिम हुसेन, मगरसँघका राजेन्द्र थापा मगर, राजयोगी गुणराज लामिछाने, पत्रकार गणेशराज रिजाल लगायतको सहभागिता रहेको थियो ।
संस्था संचालक समितिका सदस्य विनोद चौधरीको स्वागत अर्का सदस्य कुमार प्रसाद तिमल्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।





Write your Comment