बारा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई बाराले ब्यवसायिक पशु फार्ममा थुनेलो रोग रोकथामका लागि टिट डिपिङ्ग अन्तरगत ३३ जना किसानलाई औषधी सहितका उपचार सामाग्री निःशुल्क वितरण गरेको छ ।
सुक्रबार जितपुरसिमरा उपमहानगरपालिका–१८, स्थीत रहेको साना किसान कृषि सहकारी संस्थामा आवद्ध पशु फार्म संचालन गरिरहेका किसानहरुलाई बेटाडिन, मास्ट मलम, गिलसिरिन र गाईभैसीको थुन उपचारमा सहयोगी डिप कप वितरण गरेको हो ।
औषधी सहितको सामाग्री वितरण अघि उपचार तथा कप प्रयोग विधि सहित थुनेलो रोगका लक्ष्यण, यसका असर सहित रोग लाग्न नदिन उपायका विषयमा प्रशिक्षण पनि गरिएको थियो ।
जीतपुरसिमरा र कलैयाका पशुपालन फार्म संचालक किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई बाराका छोटेबाबु प्रसाद यादव,प्रमोद कुमार राम,राजकिशोर यादव र इर्साद अंसारीले सहजीकरण र उपचार सामाग्री वितरण गरेका थिए ।
पछिल्लो समय विशेषगरी गाईमा र भैसीमा यो रोगको प्रकोप बढिरहेको पाईएको छ । रोगका कारण दुध उत्पदनमा कमि हुने र पशुको स्वास्थ्यमा समेत गम्भीर असर पर्दा किसानको लगानी ढुब्ने गरेको छ ।
दुहुनो गाई भैसिको सरसफाईमा किसानको लापरवाही सँगै अज्ञानताका कारण हुने संक्रमणबाट यो रोग लाग्ने गरेको छ । लामो समय लगाएर उपचारमा मोटो रकम खचिनु पर्ने भएकाले रोग लाग्नै नदिन सरकारले सहयोग गरेको परियोजना ईकाई बाराका पशु प्राविधिक प्रमोद कुमार रामले बताए ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नयनकला खड्का, संचालक संचराम थिङ्ग , कृषि प्राविधिक जलेन्द्र चौधरी, महिला सहायक चमेली लोप्चन लगायतको समेत सहभागिता थियो ।
Write your Comment