टी–२० सिरिजस् नेपाल क्यानाडासँग ४ विकेटले पराजित

रातोघर

 २०८१ आश्विन १६, बुधबार  मा प्रकाशित
३४१ पाठक संख्या


ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु टोली क्यानडासँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको हो। सिरिजको अघिल्लो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। पछिल्लो समय नेपाली टोली एक दिवसीय र टी २० का समान दुई खेलमा क्यानडासँग पराजित भएको छ। नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। क्यानडाका साद विन जफर ३३ र रविन्द्रपाल सिंह २० रनमा अविजित रहे।

कप्तान निकोलस किर्तन २६ र ओपनर दिलप्रित बाज्वा २५ रनमा पेभेलियन फर्के। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामीले एक विकेट झारे। त्यसअघि किंग सिटीमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो। पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले १ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि त्यसपछिका ब्याटरले आक्रमक खेल प्रस्तु गर्न सकेनन्।

अनिल शाह ४१ र आशिफ शेख ३० रनमा आउट भए। कुशल भुर्तेल १३ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। गुल्सन झा २३ र करण केसी ८ रनमा अविजित रहे। सिरिजको अन्तिम खेलमा नेपालले आज बुधबार ओमानसँग खेल्नेछ। ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो। सिरिजपछि नेपाली टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ।

Write your Comment





suv prannath