काठमाडौं महानगरको ४३औँ कार्यपालिका बैठकमा १५ प्रस्ताव पारित

रातोघर

 २०८२ आश्विन ३१, शुक्रबार  मा प्रकाशित
२९७ पाठक संख्या


काठमाडौं । काठमाडौं महानगरपालिकाले ४३औँ कार्यपालिका बैठक सम्पन्न गर्दै १४ विभागीय र विविध प्रस्तावहरू सहित कुल १५ वटा प्रस्ताव पारित गरेको छ। प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरिएको महानगरले जनाएको छ।

बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएका छन्। तीमध्ये वडा नं. ५ टंगालस्थित व्यवसायिक भवन, वडा नं. १ दरबारमार्गस्थित शेर्पा मल भवन र नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू स्वीकृत भएका हुन्।प्रशासन विभागका तर्फबाट कलंकी मालपोत कार्यालयलाई १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई १५ लाख अनुदान उपलब्ध गराउने निर्णय पारित भयो भने महानगर अस्पतालका लागि जग्गा लिजमा लिने सम्बन्धी जानकारी पनि बैठकमा प्रस्तुत भएको थियो।

सामाजिक विकास विभागका प्रस्तावअनुसार बालकल्याण अधिकारी तोक्ने र काठमाडौं महानगरपालिका सिप तथा तालिम परिषद् स्थापना तथा सञ्चालन कार्यविधि ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको छ। स्वास्थ्य विभागले नेपाल एम्बुलेन्स सेवासँगको सम्झौता नविकरण गर्ने र स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवर्द्धन केन्द्रमा थप जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि पारित गरेको छ।कानुन तथा मानव अधिकार विभागले तयार गरेको ‘राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२’ स्वीकृत भयो भने सूचना प्रविधि विभागले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव पारित भएको छ।

सार्वजनिक निर्माण विभागले हनुमानढोका दरबार परिसर र डबली क्षेत्रमा भइरहेका मर्मत कार्यमा बाँकी काम आवश्यकता अनुसार अन्य स्थानमा सार्ने निर्णय अनुमोदन गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले CITYNET Executive Committee Meeting (इन्डोनेसिया) मा वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठको प्रतिनिधि मनोनयनको प्रस्ताव स्वीकृत भएको छ।सहरी योजना आयोग सचिवालयले सुरज शाक्य र सुमन प्रधानलाई सदस्यमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत गर्‍यो। त्यस्तै, विविध प्रस्ताव अन्तर्गत ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि जनही रु २२ लाख ९९ हजार अनुदान उपलब्ध गराउने र यन्त्र तथा उपकरण महाशाखाका कर्मचारीलाई वार्षिक एप्रोन सुविधा ८ हजार रुपैयाँ पुर्‍याउने निर्णय पनि गरिएको छ।

यी सबै प्रस्ताव पारित भएसँगै काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिका बैठक औपचारिक रूपमा सम्पन्न भएको महानगरले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban