विशेष महाधिवेशन पक्षधर नेताहरूको डा. शेखर कोइरालासँग भेट

रातोघर

 २०८२ कार्तिक १७, सोमबार  मा प्रकाशित
९० पाठक संख्या


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले इतर पक्षका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।

बिहीबार विशेष महाधिवेशनको पहल गरिरहेका नेता गुरुराज घिमिरे, मनोजमणि आचार्य र देवराज चालिसेलगायत नेताहरूले नेता कोइरालासँग भेट गरेका हुन्।

भेटमा नेताहरूले नियमित महाधिवेशन समयमै गर्न कठिनाइ देखिएको भन्दै पार्टीले तत्काल विशेष महाधिवेशनको मिति तोक्नुपर्ने माग राखेका थिए। उनीहरूका अनुसार अहिले पार्टीभित्र देखिएका विवाद र असन्तुष्टि समाधान गर्न विशेष महाधिवेशन नै एक मात्र विकल्प हो।

तर जवाफमा नेता कोइरालाले आफूले पार्टीभित्र समन्वयकारी भूमिका खेलिरहेको बताए। उनका अनुसार, “महाधिवेशनको विषयमा अहिले दुई धारणा छन्, त्यसमा सहमति जुटाउने प्रयास भइरहेको छ। दुई थरी कार्यतालिका नआओस् भनेर म पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा छु,” उनले भने।

विशेष महाधिवेशन पक्षधर नेताहरूले भोलि काठमाडौंमा छुट्टै भेला आयोजना गर्ने तयारी गरेका छन्।
संस्थापन पक्ष भने चुनावपछि वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा छ, जबकि महामन्त्रीद्वयले पुस दोस्रो साताभित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गरेर चुनावअघि नै नेतृत्व फेर्नुपर्ने मत राख्दै आएका छन्।

दुई पक्षबीच अडान नछोडिएकाले पार्टीको केन्द्रीय समिति बैठक पनि बिहीबारदेखि निरन्तर स्थगित हुँदै आएको छ।
विशेष महाधिवेशन पक्षधर टोलीले यसअघि शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गरेको थियो।

Write your Comment