

काठमाडौं । सामाजिक न्याय र युवाको अधिकारका लागि सक्रिय **‘जेनजी मुभमेन्ट अलायन्स’**ले काठमाडौं महानगरपालिकालाई सुकुम्बासी बस्तीमा बिनाविकल्प डोजर नचलाउन आग्रह गरेको छ।
अलायन्सले आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरले फेरि सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएको हो। विज्ञप्तिमा भनिएको छ, “आफ्नो टाउको माथि छाना बनाएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु गैरमानवीय र गैरजिम्मेवार कदम हो।”
संगठनले सुकुम्बासी समस्या समाधानका लागि वार्ता र सहमतिको बाटो अपनाउन सुझाव दिएको छ। साथै, यसअघि पनि डोजर अभियानका क्रममा बालबालिका, वृद्धवृद्धा र महिलामाथि ज्यादती भएको उल्लेख गर्दै पुनः त्यस्तो घटना दोहोरिन नदिन चेतावनी दिएको छ।
अलायन्सले नागरिकको आवास अधिकारलाई संविधानले सुनिश्चित गरेको अधिकारका रूपमा व्याख्या गर्दै भनिएको छ, “सरकार र स्थानीय तहले सुकुम्बासीलाई शत्रु होइन, नागरिकका रूपमा हेर्नुपर्छ।”
काठमाडौं महानगरले हालै एक साताभित्र सुकुम्बासी बस्ती खाली गर्न दिएको अल्टिमेटम सकिँदै जाँदा, उक्त निर्णयले मानव अधिकार र सामाजिक न्यायका पक्षधर समूहहरूबीच आलोचना चर्काएको छ।





Write your Comment