जगदम्बा स्टिल्स मजदुर युनियनमा नेतृत्व चयन, ११औँ अधिवेशन सर्वसम्मत सम्पन्न

रातोघर

 २०८३ भाद्र १३, शनिबार  मा प्रकाशित
१  पाठक संख्या


बारा, सिमरा । नेपालका औद्योगिक प्रतिष्ठानहरूमा मजदुर युनियनभित्रको आन्तरिक विवाद र गुटबन्दीका कारण समस्या देखिइरहेका बेला जगदम्बा स्टिल्स मजदुर युनियनले भने सहमति र एकताको उदाहरण प्रस्तुत गरेको छ।

जितपुर सिमरा उपमहानगरपालिका–४ स्थित देवाश्रममा शनिबार सम्पन्न युनियनको ११औँ अधिवेशनले अध्यक्षमा दीपक बि.क. र सचिवमा दीपक कार्कीसहित सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो।

युनियनको स्थापना भएयता प्रत्येक दुई वर्षमा अधिवेशन हुँदै आए पनि हालसम्म कुनै पनि पदमा निर्वाचनमार्फत मतदान गर्नुपर्ने अवस्था नआएको बताइएको छ। यस हिसाबले २२ वर्षदेखि लगातार ११औँ पटकसम्म सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन हुनु औद्योगिक क्षेत्रमा दुर्लभ उदाहरणका रूपमा लिइएको छ।

अधिवेशनमा जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अर्जुन चिमरिया, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिना, अखिल नेपाल औद्योगिक महासंघ बाराका अध्यक्ष डि.बी. थापा तथा वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो।

वक्ताहरूले उद्योग र श्रमिक एकअर्काका परिपूरक भएकाले मजदुरका हक, अधिकार, सुरक्षा र उद्योगको उत्पादनलाई सँगसँगै अघि बढाउन ट्रेड युनियन जिम्मेवार हुनुपर्नेमा जोड दिए। नवनिर्वाचित अध्यक्ष बि.क. र सचिव कार्कीले मजदुरको हकहित, सुरक्षा तथा संस्थाको समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban