

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोपछि उद्धार, राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार च्यासलमा एमाले महासचिव शंकर पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन बुझाउने कार्यक्रममा ओलीले विपत्तिको समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले देश शोकमा रहेकाले पीडितको पीडा कम गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। मानवीय क्षति अपूरणीय हुने भन्दै भौतिक संरचना पुनर्निर्माण गर्न सकिए पनि ज्यान गुमाएकालाई फर्काउन नसकिने बताए।
ओलीले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर उद्धार तथा राहतका काम अघि बढाउनुपर्ने बताए। राज्यकोष उदारतापूर्वक परिचालन गरी प्रभावित नागरिकलाई तत्काल सहयोग गर्न सरकारसँग आग्रह गरे।
तर, उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राज्यसँग पर्याप्त साधनस्रोत हुँदाहुँदै पनि त्यसको प्रभावकारी परिचालन हुन नसकेको आरोप लगाए। ‘सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको छ। सरकार अगम्य, अप्राप्य र अदृश्य जस्तो अवस्थामा छ,’ ओलीले भने।
उनले उद्धारमा दक्ष माउन्टेनियर तथा रेस्क्यु संस्थालाई समेत पर्याप्त रूपमा परिचालन नगरिएको दाबी गरे। विपत्तिको समयमा सबै राजनीतिक दलले श्रेयको होडबाजी नगरी सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।





Write your Comment