

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका एकै परिवारका तीन दाजुभाइ भोटेकोशी बाढीपछि ८ दिनदेखि सम्पर्कविहीन छन्। उनीहरू रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए।
३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र २५ वर्षीय सचित यादव ओभरसियरका रूपमा आयोजनामा काम गर्दै आएका थिए। बाढी आएको दिनदेखि तीनै जनासँग परिवारको सम्पर्क हुन सकेको छैन।
भाइहरू बेपत्ता भएपछि परिवारमा रुवाबासी छ। उनीहरूकी ७० वर्षीया आमाले छोराहरूको अवस्था सम्झँदै बारम्बार बेहोस हुने गरेको परिवारले जनाएको छ। श्रीमती र अन्य आफन्त पनि उनीहरू सकुशल फर्किने आशामा दिनरात पर्खिरहेका छन्।
शिवकुमार विवाहित र दुई सन्तानका पिता हुन् भने देवकुमारको यही वैशाखमा विवाह भएको थियो। सचित भने अविवाहित छन्।
छोराहरूको खोजीका लागि बुबा लालबहादुर रसुवा पुगे पनि अहिलेसम्म कुनै खबर पाउन सकेका छैनन्। परिवारले बाढीपछि उनीहरूको अवस्था पत्ता लगाउन तत्काल खोजी तीव्र पार्न आग्रह गरेको छ।
यसैगरी सप्तरीकै विष्णुपुर गाउँपालिका–१ का ३६ वर्षीय इन्जिनियर अजयकुमार यादव पनि बाढी आएको दिनदेखि सम्पर्कविहीन छन्। उनी रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए। उनको खोजीका लागि आफन्त रसुवा पुगे पनि अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।





Write your Comment