कार्की बैंक्वेटले दुर्गा प्रसाईंका ४० हजार मान्छेलाई खाना खुवाउँदैछ ? गृहमन्त्रीको समेत चासो

रातोघर

 २०८० मंसिर ६, बुधबार  मा प्रकाशित
४४६ पाठक संख्या


काठमाडौं ।

काठमाडौंमा मंसिर ७ गते गणतन्त्रको विरोधमा प्रदर्शन गर्न लागेका दुर्गा प्रसाईंले लाखौं मानिस काठमाडौं उतारेको दाबी गरिरहेका छन् । तर, यतिका मानिसहरुलाई खाने बस्ने प्रवन्ध उनले कसरी मिलाउँछन् भन्ने चासो छ ।

हिजो एक अन्तर्वार्तामा प्रसाईंलाई पत्रकार ऋषि धमलाले यस विषयमा सोधेका थिए । जवाफमा प्रसाईंले खान-बस्न कुनै समस्या नहुने बताए । काठमाडौं आएका आफ्ना ४० हजार मान्छेलाई बबरमहलको कार्की बैंक्वेटले खाना खुवाउने प्रतिबद्धता जनाएको समेत उनले दावी गरेका थिए

खर्च व्यवस्थापनका विषयमा प्रसाईंले भनेका छन्, ‘एकजना गुरु (पुष्कर खतिवडा)ले १६ सय वटा गाडीको पैसा तिरिदिनुभयो । हिजो मात्रै काठमाडौंको कार्की बैंक्वेटले ४० हजार मान्छेलाई खाने र बस्ने सुविधा दिन्छु भनेर घोषणा गर्नुभएको छ । काठमाडौंको बागबजारका होटल सबैले दिने भए ।’

यो अन्तर्वार्तापछि कार्की बैंक्वेटका सञ्चालक भने तनावमा परेका छन् । नेपाल प्रेससँग कुरा गर्दै बैंक्वेटका सञ्चालक डीबी कार्कीले प्रसाईंले झूटो कुरा बोलेको बताए ।

‘मेरो उहाँसँग दोहोरो चिनजान र बोलचालसमेत छैन । यो सम्भव नै नहुने कुरा हो’, कार्कीले भने ।आफूलाई अहिले यस विषयमा चासो राख्दै तारन्तर फोनहरु आइरहेको उनले बताए ।

‘उहाँले यस्तो कुरा किन गर्नुभयो मलाई थाहा छैन । मैले यस विषयमा मेरो कानून व्यवसायीसँग समेत कुरा गरें । भन्दै नभनेको विषय यसरी हल्ला गर्दा भोलि हामीलाई त असर पर्छ नि’, उनले भने ।

विवादास्पद विषय भएकाले सीडीओ कार्यालयबाट अनुमति लिएरै आएको अवस्थामा पनि आफूहरुले सोच्नुपर्ने कार्की बताउँछन् । प्रसाईंसँग आफ्नो एक पटक पनि भेट नभएको उनले प्रस्ट पारे ।

‘केपी ओली प्रधानमन्त्री भएका बेला ब्यांक्वेटमा एमालेले एउटा कार्यक्रम गरेको थियो । त्यतिबेला ओली र प्रसाईं मेरो अफिसमा बसेको भन्ने कर्मचारीले पछि बताएका थिए । त्यो ४-५ वर्षअघिको कुरा हो । त्यतिबेला मैले उहाँलाई भेटेको थिइनँ । अन्य अवसरमा उहाँ कार्की ब्यांक्वेटमा आएको पनि याद छैन’, कार्कीले भने ।

स्रोतका अनुसार सञ्चालक कार्कीलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयंले फोन गरेर चासो राखेका थिए । ‘४० हजार मान्छेलाई खुवाउन लाग्नुभएको हो ?’ भनेर गृहमन्त्रीले सोध्दा आफूले यो झूटो प्रचार भएको जवाफ दिएको कार्कीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban