मध्यरातमा महिलाहरुलाई लखेट्ने को हुन् ?

रातोघर

 २०८० मंसिर ६, बुधबार  मा प्रकाशित
४३७ पाठक संख्या


काठमाडौं ।

महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल छ ।रातिको कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ र पुरुषहरु बस चढाएर इटहरी नै फर्काइदिने कुरा गरेको सुनिन्छ ।

भिडियो सेयर गर्नेहरुले युवा संघले राति सुतिरहेका महिलाहरुलाई दुर्व्यवहार गरेको लेखेका छन् । तर युवा संघले भने त्यसको खण्डन गरेको छ ।

अनलाइनखबरको जिज्ञासामा युवा संघका प्रवक्ता निरोज पौड्यालले आफूहरुभित्र पनि मानवता रहेको भन्दै यस्तो खालको अराजकता युवासंघले नगर्ने बताएका छन् । ‘हामी आफैं अराजकताविरुद्धको अभियानमा छौं, यो खालको अराजक काम हामीबाट हुँदैन,’ उनले भने

भिडियोमा के छ ?

राति खिचिएको भिडियोमा एउटा हलमा भुइँमा ओछ्यान लगाएर बसेका महिलाहरु देखिन्छन् । एक जना पुरुषले ‘हेलो दिदीहरु, सात गतेको कार्यक्रममा आउनु भएको हो ?’ भनेर सोध्छन् ।

अर्का एक पुरुषले ‘छिटो गइहाल्नुस्’ भन्छन् ।त्यसको जवाफमा एक महिलाले ‘हामी जान्छौं हो जान्छौं, लुगा लगाउन दिनुस् न हामीलाई’ भन्छिन् ।

फेरि एक पुरुषले ‘तपाईंहरु सात गतेको कार्यक्रममा आउनु भएको होइन ? ल ठिक छ तपाईंहरु उठिहाल्नुस् त’ भनेको सुनिन्छ । उनी ‘छिटो-छिटो गर्नुस् न’ भन्दै अत्याउँछन् ।

अर्का एक जनाले भने ‘लुगा लगाउन १० मिनेट टाइम दिएको’ भन्छन् ।

ती महिलाहरु आफ्नो स्थानबाट उठ्छन् र झोला बोकेर कोठाबाट बाहिर निस्किन सुरु गर्छन् ।

भिडियो हेर्दा महिलाहरु एक तला माथिको हल कोठामा बसेको जस्तो देखिन्छ र एक पुरुषले फेरि ‘ए दिदी झर्नुस्, फास्ट’ भन्छन् ।

भिडियोमा एक पुरुषले ‘तपाईंहरु कुन जिल्लाबाट आउनु भएको ?’ भनेर प्रश्न गर्छन् । महिलाहरुले त्यसको उत्तर दिएको सुनिँदैन । अर्का पुरुषले नै ‘इटहरीबाट अरे’ भनेर आफैं उत्तर दिन्छन् ।‘ए इटहरी !’ भन्दै पुरुषहरु उनीहरुलाई बस चढाएर इटहरी नै फर्काइदिने कुरा गर्छन् ।

एक महिलाले आजको रात यहीँ बस्न दिन आग्रह गरेको सुनिन्छ । पुरुषहरु भने ‘हुँदैन हुँदैन’ भन्छन् ।ती पुरुषहरुले दुर्गा प्रसाईंको नाम लिँदै युट्युबमा कुर्लिएजस्तो नहुने बताएको पनि सुनिन्छ ।

करिब साढे तीन मिनेटको भिडियोको अन्तिममा महिलाहरु आफ्ना झोला बोकेर सडकमा हिँडिरहेको देखिन्छ र पुरुषहरुले दुर्गा प्रसाईंले पार्टी प्यालेसमा अलपत्र पारेको भनेको सुनिन्छ ।

यो भिडियो कहाँको हो भन्ने खुलेको छैन । कसैले कोटेश्वरको एक पार्टी प्यालेसको हो भनेका छन् भने कसैले चाबहिल वा भक्तपुरको हुन सक्ने बताएका छन् ।

दुर्गा प्रसाईंका समर्थकहरुले महिलाहरुलाई रातिको समयमा लखेट्ने काम युवा संघले गरेको भन्दै आलोचना गरिरहेका छन् । तर युवा संघले त्यसलाई नकारेको छ ।

के भन्छ युवा संघ ?

युवा संघका प्रवक्ता निरोज पौड्यालले बुधबार दिउँसो गर्ने कोणसभा र बिहीबार तीनकुनेमा गर्ने प्रदर्शनको पूर्व तयारीका लागि राति अबेरसम्म केन्द्रीय कार्यालयमा बसेर योजना बनाएको तर राति महिलाहरुलाई लखेट्न नगएको बताए।

युवा संघका प्रवक्ता निरोज पौड्याल प्रवक्ता पौड्यालले भने, ‘हामी रातिमा बास बसेका चराचुरुङ्गीलाई त चलाउन हुँदैन भन्छौं भने उनीहरु त मान्छे हुन्, हामीबाट यस्तो अमानवीय काम हुन सक्दैन ।’ आफूहरुलाई बदनाम गराउन र सात गतेको कार्यक्रमलाई असफल बनाउन विरोधी तत्व लागेको उनले जिकीर गरे ।

यद्यपि संगठनभित्र यसबारे छानबिन गर्ने र कसैको संलग्नता देखिए कारबाही गर्ने प्रतिबद्धता पनि उनले जनाए । युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर ७ गते बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन् ।

दुवै पक्षले आफ्नो प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएका छन् र जिल्ला–जिल्लाबाट समर्थकहरुलाई काठमाडौंमा ओसार्ने तयारी गरेका छन् ।उनीहरुको प्रदर्शनलाई लक्षित गरी काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban