

वीरगञ्ज ।
मङ्सिर १० गतेदेखि पोखरामा आयोजना हुन लागेको केपी ओली टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको तर्फबाट खेल्न पर्साबाट दुई जना खेलाडी छानिएका छन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा पर्साका सम्साद अन्सारी र ईमरान शेख मधेस प्रदेश टिमबाट खेल्न छानिएका हुन् ।
पाँच दिनसम्म पोखरामा चल्ने प्रतियोगितामा देशभरिबाट १२ वटा टिम सहभागी हुँदै छन् । चार वटा समूहमा विभाजन गरिएको प्रतियोगिताको फाइनल खेल पोखरामै १५ गते आयोजना हुनेछ ।
मधेस प्रदेशसँगै नेपाल पुलिस र सुदूरपश्चिम प्रदेश तेस्रो समूह चरणमा छन् । जनकपुरका हरिशंकर साहको नेतृत्वमा रहेको मधेस प्रदेश टिमको पहिलो खेल नेपाल पुलिससँग हुनेछ । दोस्रो खेल भने ११ गते सुदूरपश्चिम प्रदेशसँग हुनेछ ।
मधेस प्रदेशका क्रिकेट प्रशिक्षक प्रकाश शर्माका अनुसार प्रतियोगिताका लागि खेलाडीहरू पूर्णतः तयार छन् । हामीसँग कुराकानी गर्दै शर्माले टिममा खेलाडीहरूको पारस्परिक सहभागिताले प्रतियोगिताको प्रबल दाबेदारको रूपमा आफूहरू रहेको बताए ।टिममा नयाँ खेलाडीहरूको आगमनसँगै हरेक दृष्टिबाट टिम सम्पन्न भएका कारण जीतको सम्भावना समेत उच्च रहेको उनीहरूको विश्वास छ ।





Write your Comment