सिम्रौनगढ नगरपालिकाको गोलीकाण्ड : मृतकको पहिचान खुल्यो, कसरी भयो घटना ?

रातोघर

 २०८० मंसिर २७, बुधबार  मा प्रकाशित
८०४ पाठक संख्या


सिम्रौनगढ ।

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ ।

नगरपालिकाका आन्दोलनरत कर्मचारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको हो ।

बारा प्रहरीले चलाएको गोलीबाट सिम्रौनगढ नगरपालिका वडा नम्बर १ का लक्ष्मी मुखिया बिनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

स्थानीयका अनुसार प्रहरीले चलाएको अन्धाधुन्ध गोलीबाट उनको घटनास्थलमा मृत्यु भएको हो ।

तलब र सेवा सुविधाको माग गर्दै नगरपालिकाका कर्मचारीहरु करिब २ महिनादेखि आन्दोलनरत छन् । कर्मचारीहरु सेवासुविधाको माग गर्दै गेटमा धर्ना बसेर आन्दोलन गर्दै आइरहेका थिए ।

कसरी भयो विवाद ?

यहीबीच आज सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी प्रसाद कलवारले सरुवा भएर आएका नयाँ प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई जबरजस्ती हाजिर गराएपछि विवाद उत्पन्न भएको थियो ।

नयाँ हाकिमसंग मिश्रसंग आफूहरुको समस्या किन सुनाउन नलगाएको भन्दै मेयर कलवारविरुद्ध आन्दोलनरत कर्मचारीहरुले गेट बाहिर टायर बालेर प्रदर्शन गरिरहेका थिए ।

मेयर कलवारले हाकिमसहित कार्यालयमा आफू थुनिएको सुइँको पाएपछि बारा प्रहरीसंग गुहार मागेका प्रहरी स्रोतको भनाइ छ ।

यहीक्रममा घटनास्थलमा पुगेको प्रहरी टोलीसंग कर्मचारीहरुले ढुंगामुढा प्रहार गर्दा दोहोरो झडप भएको थियो ।

स्थिति अझ तनाव ग्रस्त भएपछि सुरुमा अश्रुग्यास प्रहार गरेको प्रहरीले दर्जनौ राउण्ड हवाइफायर समेत गरेको थियो ।

प्रहरी स्रोतका अनुसार यही हवाइफायर गर्दा प्रहरीको गोलीबाट बिनको मृत्यु भएको हो ।

झडपमा प्रहरीको तर्फबाट भने १० जना घाइते भएको बारा प्रहरीले जनाएको छ । स्थानीयको मृत्यु भएपछि सिम्रौनगढ अझै तनाव ग्रस्त रहेको स्थानीयले जनाएका छन् ।

बारा प्रहरीका अनुसार अहिले थप घटना हुन नदिन सिम्रौनगढ नगरपालिकामा व्यापक परिचालन गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban