

मनहर्वा,बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा यही माघ १९ र २० गते वृहत सांस्कृतिक कार्यक्रम २०८० आयोजना हुने भएको छ ।
नेपाल तामाङ्ग घेदुङ्ग संघ जिल्ला समन्वय समिति बाराको आयोजनामा २८६०औँ सोनाम ल्होछारको अवसरमा उक्त वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । माघ २७ गते सोनाम ल्होसार परेको छ ।
आईतवार कार्यक्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले कार्यक्रम बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सुर्य घलानले वृहत सांस्कृतिक कार्यक्रमका वारे जानकारी दिएका थिए ।
तामाङ्ग समुदायको धार्मिक, सांस्कृति र परम्परालाई जर्गेना गर्ने मुख्य उदेश्यका साथ आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन माघ १९ गते जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
दुई दिनसम्म उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, -याली, तामाङ्ग समुदायहरुको सांस्कृतिक झल्किने विभिन्न झाँकी, कला सहित राष्ट्रिय तथा स्थानीय तामाङ्ग कलाकारहरुको प्रस्तुति समेत रहने अध्यक्ष घलानले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रमको कुल अनुमानित खर्च रु १० लाख हुने आयोजकले जनाएको छ । कार्यक्रमको समापन माघ २० गते नेपाल तामाङ्ग घेदुङ्ग संघका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङ्गले गर्ने जिल्ला अध्यक्ष घलानले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भीम बहादुर गंतान तामाङ्ग सहित नेपाल तामाङ्ग घेदुङ्ग संघ बाराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





Write your Comment