जीतपुरसिमरा महोत्सवको उद्घाटनमा प्रधानमन्त्री आउने

रातोघर

 २०८० फागुन १०, बिहिबार  मा प्रकाशित
७९८ पाठक संख्या


सिमरा ।

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बारा आउने भएका छन्।

पहिलो जितपुरसिमरा एक्पो २०२४ तथा जितपुरसिमरा महोत्सव २०८० को उद्घाटन गर्न प्रधानमन्त्री दाहाल यही फागुन १८ गते बारा आउने भएका हुन् ।

आगामी १८ फागुनदेखि ३० सम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा आयोजना गरिने महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने तय भएको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए।

‘कृषि –पर्यटन ,खेल –उद्योग र व्यापार ! जितपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित यसपटक उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएका कारण यसको उद्घाटन प्रधानमन्त्री दाहालबाट नै गराइने भएको अध्यक्ष शर्माले बताए।

महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्त्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष शर्माले बताए। उनले बारामा रहेका विभिन्न मठमन्दिरको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने बताए।

उनले महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित हुने अपेक्षा रहेको जनाए।

बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, बालबालिका तथा युवाहरूको मुख्य आकर्षणका रूपमा रहँदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष शर्मा जनाए।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछन् भने महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban