

बारा ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको विषय सच्याउन माग गरेको छ । लामो समय देखि उठान गर्दै आएको विषयमा नेपाल पत्रकार महासंघ गम्भीर नभएको भन्दै ७ दिने अल्टीमेटम सहितको पत्र महासंघलाई पठाएको हो ।
फोनिज बाराका अध्यक्ष जियालाल चौधरी सहितको टोलीले नेपाल पत्रकार महासंघ बारा शाखामा मार्फत बुधबार केन्द्रीय समितिलाई ७ दिने अल्टिमेटम सहितको स्मरण पत्र बुझाएको हो ।
नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । वि.सं २००८ वैशाख ९ गतेको पत्रकारहरुको भेलाले श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भएको हो ।
तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ, पत्रमा भनिएको छ ।
संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने दस्तावेजहरू अकाट्य तथ्य प्रमाणहरू हुँदाहुँदै नेपाल पत्रकार महासंघले विवाद झिकेको फोनिजले पत्रमा उल्लेख गरेको छ ।
नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेर गलत गरेको छ । यस्ता विवरण सच्याएर नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गदैछौं , फोनिज बाराले भनेको छ ।
वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्दछौं तर उहाँलाई संस्थापक सभापति मान्न सकिँदैन उसले भनेको छ ।
यस भन्दा पहिला पनि फोनिजले २०७९ सालमा नेपाल पत्रकार महासंघ मार्फत ज्ञापन पत्र बुझाइएको थियो । तर इतिहास नसच्याएकाले स्मरणका लागि पुनः पत्र बुझाउनु परेको फोनिज बारा अध्यक्ष चौधरीले बताए ।
फोनिज बारा शाखाका अध्यक्ष जियालाल चौधरीका नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहता , सचिव अनिल कुमार गौरव तथा सह सचिव दुष्यन्त चौधरीलाई शाखा मार्फत केन्द्रीय समितिलाई ७ दिने अल्टिमेटम तथा स्मरण पत्र बुझाएको हो ।
फोनिज बाराका सल्लाहकार तथा अग्रज पत्रकार सत्य प्रकाश श्रेष्ठ , फोनिज बाराका सचिव धिरेन्द्र पनुहर , बिनिता चौधरी , जितेन्द्र चौधरी लगाएको कार्यक्रमा उपस्थिती थियो ।





Write your Comment