

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग भत्काउने प्रयास गरेको छ। डोजरसहित पुगेको महानगरको टोलीलाई प्रहरीले भवन भत्काउन नदिने चेतावनी दिएको छ।
प्रहरी अधिकारीहरूले मेयर बालेन साहले यस विषयमा कुनै पनि समन्वय नगरेको आरोप लगाएका छन्। उपत्यका ट्राफिक कार्यालयका डीएसपी सुनिलजंग शाहका अनुसार उक्त ठाउँ गुठी संस्थानबाट २०३२ सालमा ट्राफिक प्रहरीले भोगाधिकार प्राप्त गरेको क्षेत्र हो।
‘हामीलाई गुठीले भोगाधिकार दिएको ठाउँ हो। त्यसैले हामी त्यहाँ बसेका हौं,’ डीएसपी शाहले नेपाल प्रेससँग भने, ‘अरू टहरा वा घर हटाउने कुरा फरक हो, तर हाम्रो कार्यालय भत्काउन दिँदैनौं।’
नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयर साहको आदेश कार्यान्वयन गर्दै जबर्जस्ती डोजर चलाउन खोजेको आरोप लगाइएको छ। यसअघि महानगरले बालुवाटारस्थित प्रहरी बिटलाई पनि २४ घण्टाभित्र खाली गर्न अल्टिमेटम दिएको थियो, जसको समय सीमा आजै सकिँदैछ।
काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराईले पनि महानगरले कुनै किसिमको आधिकारिक समन्वय नगरेको पुष्टि गरेका छन्।
महानगरका अनुसार उक्त ट्राफिक प्रहरी प्रभाग सम्पदा क्षेत्रभित्र अवैध रूपमा बनेको संरचना हो, जसलाई संरक्षण कानुन अनुसार हटाउनुपर्ने बताइएको छ। हाल घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र महानगर प्रहरी परिचालित छन्, र स्थिति केही तनावरहित भए पनि तनावपूर्ण बनेको बताइन्छ।





Write your Comment