

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक र फोहर बाल्ने कार्यमा प्रतिबन्ध लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार यस्तो कार्यले वायुमण्डलमा हानिकारक धुवाँ फैलाउने भएकाले जरिवाना र कारबाहीको व्यवस्था गरिने भएको हो।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “जाडो मौसममा खुला ठाउँमा फोहर वा प्लास्टिक बाल्दा धुवाँ र विषाक्त ग्यासका कारण वायु प्रदूषण बढ्ने र स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यस्तो कार्य तत्काल बन्द गर्न अनुरोध गरिन्छ।”
महानगरले स्थानीयवासीलाई फोहर व्यवस्थापनका लागि तोकिएका संकलन केन्द्र र पुनःप्रयोग प्रणाली प्रयोग गर्न आग्रह गरेको छ। साथै, प्लास्टिक बाल्ने, मिसाउने वा खुलेआम जलाउनेलाई वातावरण संरक्षण ऐनअन्तर्गत जरिवाना र कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
हाल राजधानीमा जाडो मौसम सुरु भएपछि वायु प्रदूषणको स्तर तीव्ररूपमा बढेको छ। यस्ता प्रतिबन्ध र सचेतनामूलक अभियानमार्फत महानगरले प्रदूषण घटाउने प्रयास थालेको जनाएको छ।





Write your Comment