लैनचौरको स्काउट जग्गा खाली, पूर्वमन्त्री दीपक खड्काको कम्पनीमाथि अतिक्रमणको आरोप

रातोघर

 २०८२ कार्तिक २७, बिहिबार  मा प्रकाशित
२७१ पाठक संख्या


काठमाडौं । पूर्वमन्त्री दीपक खड्काको कम्पनी खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि. ले नेपाल स्काउटको लैनचौरस्थित जग्गा भाडा नतिरी अतिक्रमण गरेको भन्दै काठमाडौं महानगरपालिकाले उक्त स्थान खाली गराएको छ। महानगरले प्रहरी र स्काउटका प्रतिनिधिको उपस्थितिमा बिहीबार बिहानै कार्यान्वयन गरेको हो।

महानगरका अनुसार, उक्त जग्गा नेपाल स्काउटको स्वामित्वमा रहे पनि लामो समयदेखि निजी प्रयोजनका लागि प्रयोग भइरहेको थियो। कानुनी प्रक्रिया पूरा नगरी प्रयोग गरिएको पुष्टि भएपछि कारबाही अघि बढाइएको हो।

इतिहासविद्हरूका अनुसार सो स्थान सन् १९९५ सम्म पोखरीको रूपमा रहेको ऐतिहासिक प्रमाण भेटिएको छ। पोखरीलाई विस्तारै पुरेर निजी प्रयोजनका लागि प्रयोग गरिँदै आएको बताइएको छ।

जेन–जेड आन्दोलनका अगुवा सुदन गुरुङले खाली गराइएको सो स्थानलाई पुनः सार्वजनिक प्रयोगका लागि पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। उनले भने, “लैनचौरको यो ठाउँलाई पुनः पोखरीको रूपमा फर्काएर ‘Gen Z स्मृति पोखरी’ बनाउनुपर्छ। हरेक इटामा जेनजी सहिद र घाइतेहरूको नाम लेखिने गरी पुनर्निर्माण गरियो भने यो ठाउँ स्वतन्त्रता र बलिदानको प्रतीक बन्न सक्छ।”

गुरुङका अनुसार, उक्त पुनर्निर्माण जनश्रमदानमार्फत सुरु गर्न सकिनेछ।

काठमाडौं महानगरका अधिकारीहरूले सार्वजनिक सम्पत्तिमाथि निजी स्वार्थका लागि कब्जा गर्न खोज्नेहरूविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनीहरूले लैनचौर क्षेत्रको ऐतिहासिक र प्राकृतिक स्वरूप जोगाउँदै हरियाली क्षेत्रमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban