९ दिनपछि पनि छापिएका लाइसेन्स विभागमा नपुग्दा सेवाग्राही अलमल

रातोघर

 २०८२ कार्तिक ३०, आईतबार  मा प्रकाशित
१६९ पाठक संख्या


काठमाडौं । कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको शुभारम्भ गरेको ९ दिन बितिसक्दा पनि छापिएका लाइसेन्स यातायात व्यवस्था विभागमा नपुगेका छन् । मन्त्रीले दैनिक करिब ५०० वटा लाइसेन्स छाप्ने घोषणा गरे पनि सेवाग्राही कहिलेबाट वितरण हुन्छ भन्ने अन्योलमै परेका छन् ।

यातायात व्यवस्था विभागमा नयाँ लाइसेन्स प्रिन्ट कहिले सुरू हुन्छ भनेर सोध्न आउने सेवाग्राहीलाई विभागले ‘१० दिनपछि हुनसक्छ’ भनेर फर्काइरहेको छ । सुरुको चरणमा छपाइका लागि दिइएका ५०० प्रति लाइसेन्स विभागमा नआएपछि विभागका कर्मचारी नै अनिश्चित अवस्थामा छन् ।

सुरक्षण मुद्रण केन्द्रले छापिएका लाइसेन्सहरूको गुणस्तर जाँच (ल्याब टेस्ट) भइरहेको जनाएको छ । नेपालमै परीक्षण पर्याप्त नभए विदेश पठाउने तयारी गरिएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताए । उनका अनुसार पानी, तेल, डीप फ्रिजरलगायत विभिन्न वातावरणमा राखेर लाइसेन्सको टिकाउपन परीक्षण गरिँदैछ ।

मन्त्रीले सार्वजनिक रूपमा नमुना देखाउनु अघिल्लो दिन नै छापिएका लाइसेन्स परीक्षणका लागि काठमाडाैं विश्वविद्यालय (केयू) मा पठाइएको ढुङ्गानाको भनाइ छ । विभागले भने पहिलो चरणका ५०० प्रति लाइसेन्स नआएकाले थप तथ्याङ्क उपलब्ध नगराइने जनाएको छ । विभागका आईटी निर्देशक केशव खतिवडाका अनुसार, केन्द्रको प्रणालीले विभागको डेटा सिधै पढ्न नसक्ने भएकाले छुट्टै डेटा तयारी आवश्यक हुन्छ, जुन पहिलो लट आएपछि मात्र उपलब्ध गराइनेछ ।

हाल वैदेशिक रोजगारी, विदेश अध्ययन, कूटनीतिक मिशन तथा अत्यावश्यक सेवाका लागि लाइसेन्स चाहिनेहरू सबै अनिश्चित प्रतीक्षामा छन् । देशभर करिब ३० लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्न बाँकी छ । मन्त्रालयले छपाइका लागि २७ करोड ६० लाख बजेट उपलब्ध गराएको छ, जसबाट करिब १२ लाख लाइसेन्स मात्र छाप्न सकिनेछ । बाँकी ३० लाखको छपाइका लागि थप बजेट आवश्यक पर्ने विभागले जनाएको छ ।

यसैबीच, विभागले छाप्दै आएको लाइसेन्सका १९ विशेष सुरक्षा फिचरमध्ये ४ वटा फिचर अब मुद्रण केन्द्रबाट नआउने भएका छन् । पहिले जस्तै प्वालजस्तो देखिने विशेष चिन्ह, छाम्दा अक्षर उठेको जस्तो अनुभूति हुने फिनिसिङ र फरक प्रकारको लेखाइ अब रहने छैन । चिप्सको सट्टा क्यूआर कोड प्रयोग हुनेछ ।

छपाइ सुरू भएको भन्दै सरकारका प्रतिनिधिहरूले आश्वासन दिए पनि लाइसेन्स कहिलेबाट वितरण हुने भन्ने स्पष्ट छैन, जसले सेवाग्राहीमा थप निराशा र अन्योल बढाएको छ ।

Write your Comment