फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री गुरुङ विवादमा, आफू ठगिएको दाबी गर्दै अदालत जाने तयारी

रातोघर

 २०८२ चैत्र २३, सोमबार  मा प्रकाशित
२६९ पाठक संख्या


काठमाडौं — गृहमन्त्री सुधन गुरुङ फेवातालको किनारमा लिएको जग्गा प्रकरणमा विवादमा तानिएका छन्। उनले उक्त जग्गा लिँदा आफू र उनका साझेदारहरूलाई झुक्याइएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्।

गुरुङसहित तीन जनाले ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले फेवाताल किनारको जग्गा लिजमा लिएका थिए। तर पछि सो जग्गा फेवातालको मापदण्डभित्र पर्ने अतिक्रमित क्षेत्र रहेको खुलेपछि विवाद चर्किएको हो।

पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन थालेपछि गृहमन्त्री गुरुङले स्पष्टीकरण दिएका हुन्। उनका अनुसार जग्गाधनीहरूले सो जग्गा ६५ मिटर मापदण्ड बाहिर रहेको भन्दै विश्वास दिलाएका थिए।

“हामीलाई जग्गा मापदण्डभित्र पर्दैन भनेर देखाइयो, लालपूर्जामा समेत सुरक्षित देखियो। तर पछि नगरपालिकाबाट बुझ्दा मापदण्डभित्र पर्ने रहेछ,” गुरुङले बताएका छन्।

उनले अतिक्रमणको तथ्य लुकाएर लिजमा दिएको भन्दै आफूहरू ठगिएको दाबी गरेका छन्। साथै, उक्त जानकारी प्राप्त हुनेबित्तिकै निर्माण कार्य र लगानी रोकिएको पनि उनले स्पष्ट पारे।

गृहमन्त्री गुरुङले यस घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी उपचार खोज्ने बताउँदै भने, “हामीलाई पर्न गएको अन्याय र ठगी विरुद्ध कानुनी प्रक्रियामा अघि बढ्नेछौं।”

यस घटनाले सरकारी पदमा रहेका व्यक्तिको संलग्नता र फेवाताल अतिक्रमणको विषयलाई पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban