११ लाख ग्राहकको आँकडा पार गर्दै वर्ल्डलिंकले रच्यो नयाँ इतिहास

रातोघर

 २०८३ श्रावण १४, बिहिबार  मा प्रकाशित
१  पाठक संख्या


सिमरा । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड ले ११ लाख एफटिटिएच (फाइबर टु द होम) ग्राहकको ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यससँगै कम्पनीले नेपालको एफटिटिएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा कायम गर्दै डिजिटल रूपान्तरणको यात्रामा अर्को महत्वपूर्ण सफलता हात पारेको जनाएको छ।

सन् १९९५ मा इमेल सेवाबाट यात्रा सुरु गरेको वर्ल्डलिंकले डायल–अप, केबल, वायरलेस हुँदै अत्याधुनिक फाइबर इन्टरनेट सेवासम्म आफ्नो पहुँच विस्तार गरेको हो। सन् २०१५ देखि एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशभर उच्च गतिको इन्टरनेट विस्तारलाई तीव्र बनाएको थियो।

ग्राहकलाई अझ उत्कृष्ट सेवा दिन कम्पनीले हालै वाइफाई ६ (Wi-Fi 6) प्रविधि पनि सञ्चालनमा ल्याएको छ। यसले उच्च गति, फराकिलो कभरेज, न्यून विलम्बता (लो लेटेन्सी) र एकैपटक धेरै उपकरण जोडिँदा पनि प्रभावकारी कार्यसम्पादन गर्ने सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ।

हाल वर्ल्डलिंकको सेवा नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ। हिमाली भेगदेखि तराईसम्म र दुर्गम जुम्लादेखि अन्नपूर्ण आधार शिविरसम्म उच्च गतिको फाइबर इन्टरनेट सेवा पुर्‍याउँदै कम्पनीले डिजिटल पहुँच विस्तारमा उल्लेखनीय योगदान दिइरहेको जनाएको छ।

३१ वर्षभन्दा बढीको सेवायात्रामा वर्ल्डलिंकले गुणस्तरीय सेवा, आधुनिक प्रविधि, सुदृढ नेटवर्क पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामार्फत लाखौँ नेपालीको विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार ११ लाख ग्राहकको उपलब्धि केवल व्यावसायिक सफलता मात्र नभई ग्राहक, कर्मचारी, साझेदार र सरोकारवालाको विश्वास तथा सहकार्यको प्रतिफल हो।

यस अवसरमा वर्ल्डलिंकले आफ्ना सम्पूर्ण ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नवीनतम प्रविधि, उत्कृष्ट सेवा र उच्च ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर नेपालको डिजिटल भविष्य निर्माणमा अग्रणी भूमिका खेल्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban