

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले देश विपद्मा परेका बेला मानवीय सहयोगको हात अघि बढाएका छन्। उनले बाढीपहिरो प्रभावितको राहतका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन्।
मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको तयारीमा रहेका सन्दीपले सामाजिक सञ्जालमार्फत आफ्नो तलब सहयोग गर्ने जानकारी दिएका हुन्।
उनले क्रिकेट संघ नेपाल (क्यान)बाट प्राप्त हुने एक महिनाको तलब विपद् प्रभावितका लागि सहयोग गर्ने बताएका छन्। कठिन परिस्थितिमा रहेका नेपालीप्रति आफ्नो मन र भावना जोडिएको उल्लेख गर्दै उनले मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
सन्दीपले नेपालले प्रतियोगितामा प्राप्त गर्ने हरेक विकेटबापत १ हजार ५ सय रुपैयाँ तथा नेपाली खेलाडीले प्रहार गर्ने हरेक चौका र छक्काबापत पनि १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
उनको यो अभियानबाट संकलित रकम बाढीबाट प्रभावित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने बताइएको छ।
सन्दीपले आफ्नो अभियानलाई भावनात्मक रूपमा जोड्दै ‘हरेक विकेट, हरेक बाउन्ड्री र हरेक खुसी नेपालका लागि’ भन्ने सन्देश दिएका छन्।
यसअघि पनि विपद्का बेला खेलाडी तथा क्रिकेट क्षेत्रबाट राहत र सहयोगका अभियान सञ्चालन हुँदै आएका छन्। सन्दीपको यो घोषणाले खेल मैदानमा मात्र होइन, विपद्को समयमा सामाजिक जिम्मेवारी निर्वाह गर्ने खेलाडीको भूमिकालाई समेत थप उजागर गरेको छ।





Write your Comment