नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

रातोघर

 २३ श्रावण २०७९, सोमबार १९:२७  मा प्रकाशित
२०८ पाठक संख्या



नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आज एक विज्ञप्ती जारी गर्दै भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। प्रशिक्षकको हैसियतमा, उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघका रणजी ट्रफी टोलीहरूसंगै अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ।

मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले भनेका छन्– ‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो टोली बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु ।’

क्यानडाका पुबुदु दासानायेकेले राजीनामा दिएपछि नेपाल प्रशिक्षक विहिन बनेको थियो ।

Write your Comment