विक्षिप्त प्रवेशको परिवार : सास गयो, लासको पर्खाइ

रातोघर

 २३ आश्विन २०८०, मंगलवार ०९:५३  मा प्रकाशित
३५९ पाठक संख्या



सुर्खेत ।

‘बुवा-आमा ! अब तपाईंहरुले धेरै दुःख गर्नुपर्दैन । तपाईंको छोरा कमाउने भइसक्यो । दुःखका दिन अब गए’ भन्दै शारदा नगरपालिका-३, सल्यानका प्रवेश भण्डारीले इजरायलको यात्रा तय गरेका थिए ।

२४ वर्षीय प्रवेश सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । इजरायल जानु अघि उनले आमालाई सम्झाउँदै भनेका थिए, ‘मेरो केही पनि चिन्ता नलिनू, म छिट्टै आउँछु र नयाँ घर बनाएर तपाईंहरुलाई राख्छु ।’

यति भनेर २० भदौमा घरबाट हिँडेका उनी २६ गते इजरायल पुगेका थिए । त्यहाँ पुगेसँगै काममा लागेका उनी परिवारसँग नियमित सम्पर्कमा थिए । दिनहरु ठिकठाक चल्दै थिए । तर गत शनिबारदेखि उनीसँग परिवारका सदस्यको सम्पर्क टुट्यो ।

त्यहीबेला इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर संसारभर फैलियो । यो खबर परिवारका सदस्यले पनि थाहा पाए । इजरायलमा आक्रमणको खबरसँगै परिवारका सदस्य चिन्तामा परे ।

प्रवेशसँग सम्पर्कको कैयौं प्रयास भए तर सफल भएन ।आइतबार इजरायलकै अर्को समाचार आयो- प्यालेस्टाइनी कट्टरपन्थी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भयो ।

Write your Comment