अपहरणमा परेका सबै इजरायलीको हत्या गर्ने हमासको चेतावनी

रातोघर

 २३ आश्विन २०८०, मंगलवार १३:२९  मा प्रकाशित
२८३ पाठक संख्या



काठमाडौँ । 

चार दिनयता प्यालेस्टाइनको कट्टरपन्थी लडाकु समूह हमास र इजरायलबीच युद्ध जारी छ । शनिबारयता हमासको आक्रमणबाट इजरायलमा ९ सय मानिसले ज्यान गुमाइसकेका छन् भने इजरायली सेनाको जवाफी कारबाहीले गाजा क्षेत्रमा ७ सय मानिस मारिएका छन्, साथै ३७ सय घाइते भएका छन् ।

शनिबारयता गाजा क्षेत्रबाट इजरायलतर्फ हजारौँ रकेट र क्षेप्यास्त्र आक्रमण भएको छ । साथै समुद्र, सीमाको तारबार भत्काउँदै र आकाशबाट मोटर प्यारासुट हुँदै हमासका लडाकुले इजरायलमा घुसेर आक्रमण गरेका छन् । इजरायलको ७ देखि ८ स्थानबाट हमासका लडाकु इजरायल घुसेका थिए, त्यहाँ सयभन्दा बढी मानिसलाई उनीहरूले अपहरण पनि गरे ।

यस्तोमा इजरायलले जवाफी कारबाहीलाई आक्रामक बनाएको छ । इजरायलको सेनाले गाजा क्षेत्रमा अस्पताल, विद्यालय, मस्जिदमै आक्रमण गरिदिएको छ । इजरायलले हालसम्म गाजाको १७ सय ७ स्थानमा हवाई आक्रमण गरिसकेको छ ।

यसरी इजरायलको आक्रमणमा सर्वसाधारणहरू मारिन थालेपछि हमासले आफ्ना सर्वसाधारणमाथि आक्रमण भएको खण्डमा अपहरणमा परेका सबै मानिसको हत्या गरिदिने चेतावनी दिएको छ । हमासका प्रवक्ता आबु उबाइदाले सोमबार हमासको नियन्त्रणमा रहेका बन्दीहरू हत्या गरिदिने चेतावनी दिएका हुन् ।

इजरायलका विदेशमन्त्री इलिकोहेनका अनुसार १०० भन्दा बढी मानिसहरू हमासले अपहरण गरेको छ । बिना चेतावनी इजरायलले सर्वसाधारणको घरमा बम पड्काए अपहरणमा परेका मानिसहरूलाई क्रमैसँग मारिदिने हमासको चेतावनी छ ।

शनिबारयताको हमासको आक्रमणमा पनि सर्वसाधारणहरू मारिएका छन् । दक्षिणी इजरायलको एक संगीत महोत्सवमा हमासले अन्धाधुन्ध गोली चलाउँदा एकै स्थानमा २६० जना सर्वसाधारणको मृत्यु भएको थियो । यसबीचमा इजरायलले गाजामा पूरा घेराबन्दी गर्दै बिजुली, पानी, खाद्यान्न र इन्धनको आपूर्ति रोकिदिएको छ । इजरायलले गाजामा खाद्यान्न र औषधिसहित सबै  इमरजेन्सी वस्तुको सप्लाइ रोक्ने निर्णय गरेको हो ।

Write your Comment