

बारा ।
उन्नत जातको मकैमा मकैमा दाना नलागेको गुनासोपछि सरकारी टोलिद्वारा अनुगमन गरिएको छ । कृषि मन्त्रालय अन्तरगतको बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाण्डौंले समिति नै गठन गरेर किसानको समस्या बुझ्न पठाएको हो ।
बिउबिजन गुणस्तरीय नियन्त्रण केन्द्रले पठाएको टोलीले आइतबार र सोमबार बाराको जीतपुरसिमरा उपमहानगर र प्रसौनी गाउँपालिकामा किसानले लगाएको मकै बालीको निरीक्षण गरेको छ ।
राष्ट्रिय मकै बालि अनुसन्धान कार्यक्रम रामपुर चितवनका बरिष्ठ बैज्ञानिक डा.भीमनाथ अधिकारीको संयोजकमा गठन भएको ७ सदस्यीय टोलीले जीतपुरसिमरा उपमहानगरको वडा न १५,१६,१८,२० र प्रसौनी गाउँपालिकाको वडा न ५ र ६ मा किसानले लगाएको मकै बालीमा निरीक्षण गरेको छ ।
हल्कमार्क को ५५५५, पायनियरको ३३५५, श्रेष्ठा ,एविएम ३५५ लगायतको जातमा समस्या देखिएकोमा सबै भन्दाबढी हल्कमार्कको ५५५५, पायनियरको ३३५५ मा समस्या देखिएको जितपुरसिमराका किसान मिश्रीलाल यादवले बताए ।
बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले पठाएको टोलीले निरीक्षण गरेर मकै बालीमा दाना नलागेको किसानको मकैको नमुना परिक्षणको लागि जम्मा गरेर लागेको छ ।
डा. अधिकारिको संयोजकमा गठन गरिएको समितिको सदस्यमा राष्ट्रिय मकै बालि अनुसन्धान कार्यक्रम रामपुर चितवनका बरिष्ठ बैज्ञानिक डा.महेन्द्र त्रिपाठी, राष्ट्रिय बालि प्रजनन् तथा अनुवान्सिक अनुसन्धान केन्द्र खुम्लातारका डा.उज्वल कुमार सिंह, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरका बरिष्ठ बालि बिकास अधिकृत डा. प्रकाश आचार्य सहितको टोलीले बारा,पर्सामा किसानको मकै खेतीमा देखिएको समस्यामा अनुगमन गरेको छ ।
कार्तिक महिनामा मकै लगाएको अधिकांश किसानको मकै बालीमा यस्तो समस्या देखिएको र यकिन रुपमा समस्याको पहिचान ल्याबमा नमुना परिक्षण गरेपछि मात्र थाहा हुने बरिष्ठ बैज्ञानिक डा. अधिकारीले बताए ।
बारामा यसबर्ष ५ हजार ८ सय ६० हेक्टरमा मकै खेति गरिएको छ । गत बर्ष ३७ हजार ४ सय ४० मेट्रिक टन मकै उत्पादन भएकोमा यसबर्ष उत्पादनमा कमि आउने कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले बताए ।
जीतपुरसिमरा उपमहानगरमा करिब १ सय ५० बिगाहमा र प्रसौनी गाउँपालिकामा ६० बिगाह क्षेत्रफलमा किसानले लगाएको मकै बालिमा दाना नलाग्ने समस्या देखिएकोे कार्यालय प्रमुख साहले बताए ।





Write your Comment