कुलमान घिसिङ सरकार छाड्ने तयारी, रास्वपासँग एकता सम्भावनाबारे छलफल

रातोघर

 २०८२ कार्तिक ३०, आईतबार  मा प्रकाशित
१७१ पाठक संख्या


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ चाँडै सरकारबाट बाहिरिने तयारीमा रहेका छन्। नयाँ राजनीतिक परियोजना अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार छाड्ने उनको योजना अन्तिम चरणमा पुगेको स्रोतहरुको दाबी छ।

घिसिङले केही दिनअघि पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर ‘उज्यालो नेपाल पार्टी’ नामक नयाँ दल दर्ता गराएका छन्। तर, निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाणपत्र भने अझै प्रदान गरेको छैन। दल दर्ता मिलेपछि पार्टीको औपचारिक नेतृत्वमा उनी नै बस्ने प्रारम्भिक तयारी भएको बताइएको छ।

यसबीचमा घिसिङको टिमले विभिन्न दल, समूह तथा स्वतन्त्र व्यक्तिसँग निरन्तर संवाद गरिरहेको छ। धेरै व्यक्ति र केही दलका कतिपय नेताले घिसिङसँग जोडिन इच्छा देखाए पनि सबैको एउटै शर्त रहेको स्रोतले जनाएको छ— “मन्त्रालय छोड्नैपर्छ।”

पार्टीका सदस्यहरूका अनुसार घिसिङ छिट्टै मन्त्री पदबाट राजीनामा दिएकाे घोषणा गर्दै पूर्ण रूपमा राजनीतिक भूमिकामा प्रवेश गर्ने तयारीमा छन्। उनको नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’लाई फराकिलो वैकल्पिक राजनीतिक शक्ति बनाउने लक्ष्य राखिएको छ।

पार्टीले हालै संवाद समिति र उम्मेदवार छनोट समिति गठन गरिसकेको छ। यी समितिहरूले नयाँ सदस्य भित्र्याउने, सम्भावित उम्मेदवार पहिचान गर्ने तथा संगठन विस्तार गर्ने जिम्मेवारी पाएका छन्।यता, यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि एकता वा सहकार्यबारे प्रारम्भिक स्तरमा गम्भीर छलफल सुरु भएको स्रोत बताउँछ। वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका दुवै पक्षले “समान ध्येय भएका समूहहरूलाई एकै ठाउँमा ल्याउने” रणनीति बनाइरहेका छन्।

घिसिङको आगामी कदमले मुलुकको वैकल्पिक राजनीतिक धरातल कता मोडिन सक्छ भन्नेबारे अब केही दिनमै स्पष्टता आउने अपेक्षा राजनीतिक विश्लेषकहरूको छ।

Write your Comment