जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङको आह्वान : ‘बालेन, हर्क, रवि, कुलमानहरू एक ठाउँमा उभिनुहोस्’

रातोघर

 २०८२ कार्तिक ३०, आईतबार  मा प्रकाशित
१४४ पाठक संख्या


काठमाडौं । जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले देशभरको वैकल्पिक नेतृत्वप्रतिको आकर्षणलाई एक ठाउँमा समेट्दै जनप्रिय व्यक्तित्वहरूलाई एकताबद्ध हुन सार्वजनिक आह्वान गरेका छन्।

गुरुङले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ, सागर ढकाललगायत समाजमा लोकप्रियता हासिल गरेका सार्वजनिक हस्तीहरूलाई एउटै मोर्चाबाट देशको हितका लागि अघि बढ्न आग्रह गरेका छन्।

उनका अनुसार जनतामा रहेको चाहना स्पष्ट छ— वैकल्पिक राजनीति गर्ने, जनविश्वास कमाएका नेतृत्वहरू अलग–अलग हैन, संगठित रूपमा एक ठाउँमा उभिनुपर्ने आवश्यकता बढिएको छ।

गुरुङले भनेका छन्—
“हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल तथा समाजमा मन जितेका सबै व्यक्तित्वलाई आह्वान गर्छौं। सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ— तपाईंहरू सबै एकै ठाउँमा उभिनुहोस्।”

यसबडी, उनले ऐतिहासिक सन्दर्भ जोड्दै गोरखाबाट सुरु भएको एकताको यात्राले आधुनिक नेपाल बनेको उल्लेख गरे।
“जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यस्तै गोरखा मन्दिरबाट हामी आशीर्वाद लिएर यो अभियान सुरु गर्नेछौं,” गुरुङले भने।

राष्ट्रहित, सुशासन र आगामी पुस्ताको भविष्यका लागि यो अभियान अघि बढाइने उनले बताए। जेन–जी समूहले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्ति निर्माण र जनसहभागितामूलक अभियानलाई तीव्र रूपमा विस्तार गर्दै आएको छ।

Write your Comment