लुगा लगाइएको त्यो रेडियो

रातोघर

 २०७६ फागुन १, बिहिबार  मा प्रकाशित
५३८ पाठक संख्या


 

भान्छा र पूजा कोठाको छेउमा कपडा लगाएर झुण्डिएर बज्ने रेडियो अहिले तपाईंको कम्प्युटर, ल्यापटप, मोबाइल र गाडीमै पनि बज्न थालेको छ । कुनै जमाना थियो, वल्लो गाउँमा स्पिकर राखेर रेडियो घन्घाउँदा पल्लो गाउँका कृषक रमाउँथे ।

दाजुभाइ दिदीबहिनीहरू रमाउने र रेडियोमा आउने गीत संगीत सुन्नेदेखि लिएर रेडियो नाटकबाट मनोरञ्जन लिन एकै ठाउँमा भेला हुने यथार्थ अहिले एकादेशको कथा बन्न लागिसकेको छ ।

रेडियोमा गीतसंगीतका लागि फर्माइस पठाउने, समाचार सुन्ने र कुनैकुनै बेला देशमा भएका चुनावी परिणाम सुन्ने त्यतिबेलाको छिटो र भरपर्दो माध्यम रेडियो सुन्ने परिपार्टी घट्दो छ ।

तर रेडियो नै विस्थापित भएको भने होइन । पहिले मेगाहर्जमा ट्युनिङ गरेर सुनिने रेडियो अहिले इन्टरनेट, फेसबुक, ट्वीटरमार्फत सुन्न थालिएको छ । काम छोडेर सुन्ने गरिएको रेडियो अहिले ब्यस्तताका बाबजुद कम भएको भने अवश्य छ ।

रेडियोमा बोल्न, कार्यक्रम चलाउन, समाचार भन्न या रेडियोबाट आफ्नो नामसम्म पनि उच्चारण हुँदा दंग पर्ने हामी अहिले ‘ए त्यो रेडियो’ भनेर नाक खुम्चाउनेसमेत भइसक्यौँ ।

फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाइरहँदा यसको महत्त्व र आवश्यकताबारे आममानिसले बुझ्नु जरूरी छ । २०७२ सालकोे विनाशकारी भूकम्पका समयमा रेडियोले तत्कालीन समयमा आम जनतालाई सूसूचित, सुरक्षित, सतर्क र भयरहित बनाउन खेलेको भूमिका कसैले नकार्न सक्दैन ।

आधुनिक भनेर सामाजिक संजाल र इन्टरनेटको पहुँच देखाउनेहरू पनि रेडियोले गरेका योगदानमा नतमस्तक थिए । एकत्रित भएर सुन्नुको साटो अहिले छुट्टाछुट्टै बसेर सुन्ने गरिएको रेडियो मौसमको बारेमा जानकारी लिएर हिँड्न तथा सवारी जामबारे जानकारी लिएर गन्तव्यमा पुग्न सहयोगी बनिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घले फेब्र्अरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाउन आह्वान गरेअनुसार नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । यसपालि दिवसको नारा छ, ‘रेडियो र विविधता ।’

नारामा भनिएझैँ रेडियोले समाजका विभिन्न पक्षलाई समेटेको छ । समाजका सुख, दु:ख, मनोरञ्जन, सूचनालगायत बालक, युवा, प्रौढसहित सबै जातजाति, धर्म संस्कृति परम्परालाई रेडियोले समेटेको हुन्छ ।

राजनीति, अर्थ, समाज, खेलकुद, अन्तर्राष्ट्रिय परिवेश, वातावरणलगायतका मुद्दा पनि समेटिने हुँदा रेडियोमा विविधता पाइने रेडियोकर्मीहरू बताउँछन् । रेडियोमा महिला र पुरूष लगभग उत्ति उत्ति नै कार्यरत रहनुले पनि विविधताको झल्को दिन्छ ।

रेडियोलाई भरपर्दो सूचनाको स्रोतको रूपमा लिने गरिन्छ । पत्रपत्रिका र टेलिभिजनको पहुँच नपुगेको स्थानमा सेवा प्रदान गर्न सफल रेडियोले छिटो सूचना सम्प्रेषण गर्छ ।

नेपालमा रेडियो २००७ सालमा स्थापना भयो । रेडियो नेपालबाट भित्रिएको नेपाली रेडियो प्रजातन्त्रको बहालीपछि विस्तार हुँदै आएको हो । नेपालमा अहिले ३ सय ४० वटा सामुदायिकसहित साढे ६ सयभन्दा बढी रेडियो प्रसारणमा छन् ।

करिब ८ सय रेडियो दर्ता छन् । ७६ जिल्लामा रेडियोको विस्तार भए पनि छापा माध्यमसरह रेडियोलाई हेर्ने दृष्टिकोण फरक छ । नेपालमा करिब १० हजार रेडियोकर्मी छन् ।

समाज रूपान्तरणको अभियानमा भरपर्दो भूमिका खेल्ने रेडियोले प्रभावकारी कार्यक्रम, समाचार र सूचना दिनुपर्ने चुनौतीसँगै रेडियो चल्न आवश्यक पर्ने आर्थिक पक्ष नै चुनौतीको पक्ष रहेको रेडियोकर्मी र संचालकहरू दु:खेसो गर्छन् ।

कति रहरले रेडियोमा भित्रिन्छन् । तर व्यवस्थापकीय कमजोरीका कारण उनीहरू छोटो समयमै बाहिरिन्छन् । छापा र टेलिभिजनको तुलनामा रेडियोमा काम गर्ने महिलाको पहुँच बढी छ । दूरदराजका गाउँगाउँमा रेडियोमा काम गर्ने महिलाहरू बढिरहेका छन् ।

शहरी भेगमा जन्मिएका व्यावसायिक रेडियोमा काम गर्ने रेडियोकर्मी महिलाहरू पनि धेरै छन् । तर उनीहरूको निरन्तरता कम छ । रेडियो सुन्ने र रेडियोमा काम गर्छु भन्दा छाती फुकाउने जमात अहिले पछिल्लो समयमा विभिन्न प्रविधिको चर्चा चलिरहँदा अहिले सेलाएका छन् ।

बढ्दो युट्युव र अनलाइन माध्यमको प्रतिस्पर्धामा रेडियो उत्रिए पनि रेडियोलाई ती माध्यमसँग तुलना नगरी नयाँ सोच र नयाँ–नयाँ प्रविधिसँग घुलमिल गराएर रेडियोलाई लैजानुपर्ने देखिन्छ ।

। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रूअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ । विश्वमा रेडियोको प्रसारण आरम्भ भएको १ सय वर्ष र नेपालमा ७० वर्ष पूरा भइसकेको छ ।

समावेशिताको सिद्धान्तमा अघि बढेको रेडियो पश्चिममा दार्चुलादेखि पूर्वमा ताप्लेजुङसम्म पुगिसकेको छ । नेपालमा राणाशासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण गरेको थियो ।

औपचारिक रूपमा भने २८ मंसिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरू भएको मानिन्छ । निजीक्षेत्रबाट एफएम रेडियोहरूको प्रसारण भएको २०५२ सालदेखि हो ।

रेडियो नेपालको १ सय मेगाहर्जमा समय किनेर चलाएका रेडियोहरूले आफ्नो छुट्टै स्टेसन बनाइसकेका छन् । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ भने २०५४ साल जेठबाट सुरू भयो ।

छापामाध्यममा जस्तै रेडियोमा पनि विषयगत विविधता झल्किएको धेरै भइसकेकाे छ । शतप्रतिशत सांगीतिक रेडियो हिट्स एफएम, आध्यात्मिक रेडियो एफएम अध्यात्म ज्योति, हास्यव्यंग्यात्मक रेडियो अडियो र चलचित्रमा केन्द्रित फिल्मी रेडियो यसका उदाहरण हुन् ।

यसैगरी, नेपाल भाषाको रेडियो नेवा: एफएम पनि काठमाडाैंमा छ । ट्राफिक प्रहरीले सडक र सवारीका विषयमा मुख्य जानकारी दिने उदेश्यले ट्राफिक रेडियो संचालनमा ल्याएर सेवा दिइरहेको छ ।

उज्यालो एफएफ, सामुदायिक सूचना नेटवर्कलगायतले देशभरका स्थानीय रेडियोहरूबाट आफ्ना समाचार र कार्यक्रमहरू प्रसारण गरिरहेका छन् । कान्तिपुर एफएम र इमेज एफएमलगायतले आफ्नो प्रसारण सेवा देशव्यापी बनाइसकेका छन् ।

पछिल्लो समय पत्रपत्रिका संचालन गरिरहेका नागरिक र अन्नपूर्णका पनि आआफ्नै रेडियो च्यानल छन् । काठमाडौं महानगरपालिकाले पनि डेढ दशकअघि नै मेट्रो एफएममार्फत आफ्ना सूचनाहरू सम्प्रेषण गर्दै आएको छ ।

देश संघीयतामा गइसकेको परिप्रेक्ष्यमा रेडियो स्थापना, संचालन, अनुगमनमा पनि स्थानीय तहको भूमिका बलियो हुन सक्छ । रेडियोलाई मजबुत या कमजोर बनाउने हात यिनीहरूमा आइपर्ने हुँदा नीतिगत रूपमा स्थानीय तहले रेडियोको व्यवस्थापन, संचालनमा बाधा अड्काउ राखेर अंकुश राख्नु हुन्न ।

रेडियोकर्मीहरूले पनि आफ्नो क्षमताको विकास गरी सूचना , समाचार र कार्यक्रम तयार पार्नुपर्ने देखिन्छ । सँगसँगै बढ्दो युट्युव र अनलाइन माध्यमको प्रतिस्पर्धामा उत्रन नयाँ सोच र नयाँ प्रविधिसँग घुलमिल गराएर रेडियोलाई लैजानुपर्ने देखिन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban